अभिमुखीकरण तालिमको शुल्क वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न जिफन्टको माग

काठमाण्डौ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजगार अभिमुखीकरण तालिम कार्यविधि संशोधन र तालिम शुल्क वृद्धि आदि विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।

आज (आइतबार) काठमाण्डौमा आयोजित पत्रकार भेटघाट कार्यक्रमकाबीच जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकका हितका लागि सरकारले केहि नगरेको आरोप लगाउनुभयो । नेपाली युवाहरुले स्वदेशमा रोजगारी नपाएर विदेशीनु परेको अवस्थामा पनि श्रमिकका लागि वर्तमान सरकारले केहि नगरेको उहाँले बताउनुभयो ।

“अहिले दश दलीय गठबन्धन छ । यो सरकारबाट संविधानमा परिकल्पना गरिएको लोककल्याणकारी कार्यक्रम सञ्चालन हुने, सुरक्षित आप्रवासनको अवस्था सिर्जना गर्नेतर्फ कुनै काम भएको छैन ।” उहाँले भन्नुभयो,

“वर्तमान श्रम मन्त्रीले, वाध्यतावस वैदेशिक रोजगारीमा जाने नागरिकलाई आर्थिक भार थोपर्ने र ठग, कमिसनखोरहरुलाई संरक्षण दिने गरी अभिव्यक्ति दिदैँ आउनुभएको छ । श्रमिकको हितविरुद्ध गुपचुप तरिकाले कार्यविधि सशोधन गर्ने, तालिम शुल्क वृद्धि गर्ने कार्य गर्नुभएको छ ।” अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा सरकारको व्यवहारप्रति रोष प्रकट गर्नुभयो ।

प्रधानमन्त्रीले अभिमुखीकरण तालिम निःशुल्क बनाऊ भन्दा श्रम मन्त्रीले उल्टै अठ्ठाइसयभन्दा कम मूल्यमा अभिमुखीकरण तालिम दिन सकिँदैन भनेर सार्वजनिकरुपमा बोल्नु लज्जाको विषय भएको अध्यक्ष श्रेष्ठले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले अब वैदेशिक रोजगारीको विकल्प स्वदेशमा अवसर सिर्जना गर्न अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो ।

यसैगरि, वर्तमान सरकारले ठूलो सङ्ख्यामा विप्रेषण भित्रिएको कुरामा गर्व गरेर श्रमिकलाई आर्थिक भार थप्ने बाहेक केहि पनि काम नगरेकोे उहाँले आरोप समेत लगाउनुभयो । विगतका सरकारको समयमा भएका श्रमिकमैत्री निर्णयहरु विभिन्न बहानामा एकपछि अर्को गरि उल्ट्याउने प्रयास गरेकोप्रति उहाँले आपत्ति जनाउनुभयो ।

जिफन्टले प्रस्थानपूर्व श्रमिकहरुलाई दिइने अभिमुखीकरण तालिमको शुल्क वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न माग राख्दै सरकारसंग विभिन्न ७ बुँदे माग अघि सारेको छ । त्यसतै, म्यानपावर कम्पनीहरुको माग बमोजिम श्रमिकविरुद्ध निर्णय गरिएमा ट्रेड यूनियनहरु आन्दोलनमा उत्रिने चेतावनी दिदैँ नेपाल सरकारबाट कुनैपनि गलत निर्णय नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएको छ ।

जिफन्टले वैदेशिक रोजगार अभिमुखीकरण तालिम कार्यविधी शंसोधन र तालिम शुल्क वृद्धिबारे जानकारी दिन केन्द्रीय कार्यालय पुतलीसडकमा मध्यान्ह  पत्रकार सम्मेलनको आयोजना गरेको हो ।