Latest Notice

म्याग्दीको अन्नपूर्णमा उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० वटा घरमा क्षति

काठमान्डौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० वटा घरमा क्षति पुगेको छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युत् मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयबासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । पाँच वटा कुटानीपिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । पाँच जना करेन्ट लागेर सामान्य घाइते भएका छन् ।

एक जनालाई उपचारका लागि बेनी अस्पताल पठाइएको वडाध्यक्ष खड्काले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत् सर्ट हुनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ ।