आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डौ । गएराति देशका विभिन्न ठाउँमा पानी परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा धनुषामा सबैभन्दा धेरै ५४.८ मिलिमिटर वर्षा मापन भएको छ । काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको हो ।
महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै, देशका हिमाली भू–भागका केही ठाउँमा मध्यम वर्षा तथा पहाडी भू–भागका धेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही ठाउँ तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै ठाउँमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान छ ।

