मदन भण्डारी कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट–२०२६’ सुरु : १९ वटा समूहको सहभागिता
काठमाडौँ। मदन भण्डारी मेमोरियल कलेजमा आजबाट दुई दिवसीय आन्तरिक ह्याकाथन ‘एमबीएमसी ह्याकफेस्ट–२०२६’ औपचारिक रूपमा सुरु भएको छ। “सोच, नवप्रवर्तन र निर्माण” भन्ने नाराका साथ कलेजको सभाहलमा आयोजित यस प्रतियोगितामा विभिन्न स्ट्रिमका विद्यार्थीहरूको तर्फबाट १९ वटा समूहले उत्साहजनक सहभागिता जनाएका छन्।
आज बिहान कलेजको सभाहलमा एक औपचारिक समारोहका साथ ह्याकाथनको सुरुवात गरिएको हो। कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सहायक क्याम्पस प्रमुख प्रज्वलमान श्रेष्ठले प्रतियोगितामा सहभागी हुनु नै सबैभन्दा ठूलो जित भएको र सहभागिताले नै विद्यार्थीहरूलाई धेरै कुरा सिकाइने बताउनु भएको छ ।
कलेजले यसअघि अन्य कलेजहरूसँगको सहकार्यमा मात्र यस्ता कार्यक्रमहरू गर्ने गरे पनि यसपटकबाट आफ्नै कलेजका विद्यार्थीहरूका लागि आन्तरिक रूपमा ह्याकाथन सुरु गरिएको उहाँले जानकारी दिनु भयो। सहायक क्याम्पस प्रमुख श्रेष्ठले औपचारिक कार्यक्रमहरूमा अनुशासन र प्रस्तुतिको ठूलो महत्व हुने बताउँदै विद्यार्थीहरूलाई आफ्नो सोच र विचारलाई यथार्थमा परिणत गर्न आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रममा सहभागीहरूको दर्ता, अतिथि स्वागत, राष्ट्रिय गान र पञ्चदीप प्रज्वलनपश्चात प्रमुख अतिथिको मन्तव्य राखिएको थियो। त्यसपछि ह्याकाथनको नियमावली र आचारसंहिताका बारेमा जानकारी गराउँदै प्रतियोगिताको औपचारिक सुरुवात गरिएको हो।
आजको पहिलो दिनमा विद्यार्थीहरूले चारवटा विकास सत्रहरूमा रहेर आफ्ना परियोजनाहरूमा काम गरिरहेका छन्। निर्धारित कार्यतालिकाअनुसार सहभागीहरूले नेटवर्किङ र विभिन्न सत्रहरू मार्फत आफ्नो प्राविधिक क्षमता प्रदर्शन गर्ने अवसर पाएका छन्।
भोलि (आइतबार) सम्म सञ्चालन हुने यस ह्याकाथनको दोस्रो दिन थप दुईवटा विकास सत्रहरू रहनेछन्। त्यसपछि विशेष मेन्टरिङ सत्रमार्फत विद्यार्थीहरूले आफ्ना प्रस्तुतीकरणलाई अन्तिम रूप दिनेछन्। दिउँसो दुई चरणमा निर्णायक मूल्याङ्कन हुने र कार्यक्रमको अन्त्यमा विजेता घोषणा तथा प्रमाणपत्र वितरणसहित कार्यक्रम समापन हुनेछ।


विद्यार्थीहरूमा सहकार्य, सिर्जनशीलता र प्राविधिक सीपको विकास गर्ने उद्देश्यले कलेजले नियमित रूपमा यस्ता रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

