महिला तथा बालबालिकामाथिको हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको गम्भीर ध्यानाकर्षण

काठमाडौं ।  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा महिला तथा बालबालिकामाथि भइरहेका जघन्य हिंसात्मक घटनाहरूप्रति गम्भीर दुःखी र चिन्तित रहेको बताउनुभएको छ।

 सामाजिक सञ्जालमार्फत एक सार्वजनिक अपील जारी गर्दै उहाँले बारा जिल्लामा तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्याको घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ।

पूर्व राष्ट्रपति भण्डारीले हालैका घटनालगायत देशैभरि महिला र बालबालिकामाथि भइरहेका हिंसाका घटनाहरूको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीहरूलाई प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

पूर्व राष्ट्रपति भण्डारीले महिला तथा बालबालिकाको सुरक्षा र सम्मान कुनै राजनीतिक दल वा विचारधारासँग मात्र नभई मानवीय मर्यादा, सामाजिक न्याय र राज्यको आधारभूत दायित्वसँग जोडिएको राष्ट्रिय विषय भएको स्पष्ट पार्नुभएको छ। यस्ता जघन्य अपराधका घटनामा राज्यका निकाय, राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिक एकजुट हुनुपर्ने उहाँको जोड छ।

अपराधीलाई कुनै पनि प्रकारको राजनीतिक वा सामाजिक संरक्षण हुन नदिने दृढ राष्ट्रिय प्रतिबद्धता आवश्यक रहेको औंल्याउँदै उहाँले दल र विचारभन्दा माथि उठेर महिला र बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ।