चीनले खोल्यो युरोप जोड्ने नयाँ समुद्री मार्ग, युरोप पुग्न झण्डै २० दिन लाग्ने

मध्यपूर्व द्वन्द्वका कारण हर्मुज र बाब अल–मन्देबजस्ता विश्वका महत्वपूर्ण समुद्री मार्ग प्रभावित भइरहेका बेला चीनले युरोपसँग जोडिने नयाँ आर्कटिक समुद्री मार्ग सञ्चालनमा ल्याएको छ ।

चीनको ‘आइस सिल्क रोड’ नाम दिइएको यो मार्ग चीनको पूर्वी तटीय सहर निङ्बोबाट शुरु भएर रुसको नर्दन सी रुट हुँदै आर्कटिक क्षेत्र पार गर्दै बेलायतको फेलिक्सस्टोमा पुग्छ । चिनियाँ कम्पनी सी लेजेन्डले गएको वर्ष यो मार्गको परीक्षण यात्रा गरेको थियो । परीक्षण यात्रामा चीनबाट युरोप पुग्न झण्डै २० दिन लागेको अलजजिराले जनाएको छ ।

मध्यपूर्वमा बढ्दो द्वन्द्व र समुद्री सुरक्षाको जोखिमका कारण वैकल्पिक व्यापारिक मार्गको आवश्यकता बढिरहेका बेला चीनले आर्कटिक मार्गलाई अघि सारेको हो । हर्मुज जलमार्ग हुँदै विश्वको ठूलो हिस्सा तेल तथा एलएनजी व्यापार हुने गर्छ । मध्यपूर्वमा द्वन्द्व चर्किएपछि केही पानीजहाज कम्पनीहरूले लाल सागर र स्वेज नहरको विकल्प खोजिरहेका छन् ।

यही परिस्थितिमा चीनसहित विभिन्न देश र व्यापारिक कम्पनीको आर्कटिक समुद्री मार्गप्रति चासो बढेको हो । तर आर्कटिक समुद्री मार्ग वर्षभरि सञ्चालन गर्न सहज छैन । बरफ र प्रतिकूल मौसम यस मार्गका प्रमुख चुनौती हुन् । विशेषज्ञहरूका अनुसार यो मार्ग तत्काल स्वेज नहरको पूर्ण विकल्प बन्नेभन्दा पनि मौसमी वैकल्पिक मार्गका रूपमा महत्वपूर्ण हुन सक्छ ।

आर्कटिक क्षेत्र पछिल्ला वर्षमा अमेरिका, रुस, चीन र युरोपबीच बढ्दो रणनीतिक प्रतिस्पर्धाको केन्द्र बन्दै गएको छ । यसले अमेरिका, युरोपेली देश र नेटोको ध्यानसमेत थप आकर्षित गर्ने सम्भावना छ ।

चीनको ‘आइस सिल्क रोड’ ले तत्कालै विश्व व्यापारको नक्सा परिवर्तन गर्ने सम्भावना कम भए पनि यसले आर्कटिक अब केवल बरफले ढाकिएको दुर्गम क्षेत्र नभई भविष्यको व्यापार र भू–राजनीतिक प्रतिस्पर्धाको महत्वपूर्ण क्षेत्र बन्दै गएको संकेत गरेको छ ।