इरानमाथि थप कडा प्रतिबन्धको तयारीमा राष्ट्रपति ट्रम्प

एजेन्सी।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि भारी प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। इरानले लामो समयदेखि प्रतिबन्धहरूको सामना गर्दै आए पनि आफ्नो अनुकूलन क्षमता देखाएको छ, जसले गर्दा अमेरिकालाई नयाँ रणनीतिको खोजी गर्न बाध्य बनाएको हो।

गतिरोध तोड्न राष्ट्रपति ट्रम्पले ‘इकोनोमिक डी-डे’ को वाचा गरेका छन्, जस अन्तर्गत इरानसँग व्यापार गर्ने कुनै पनि देशले ठूला आर्थिक परिणामहरूको सामना गर्नुपर्नेछ। अमेरिकी अर्थमन्त्री (कोष सचिव) स्कट बेसेन्टले नयाँ अमेरिकी आर्थिक दबाब अभियान अन्तर्गत अमेरिका इरानलाई सहयोग पुर्‍याउने कुनै पनि मित्र या शत्रु देशमाथि कारबाही गर्न पछि नहट्ने स्पष्ट पारेका छन्।

उनले भने, ‘तपाईं या त हाम्रो साथमा हुनुहुन्छ वा हाम्रो विरुद्धमा। यदि तपाईं इरानसँग व्यापार गर्न जोड दिनुहुन्छ, पैसा हस्तान्तरण गर्नुहुन्छ वा तेल किन्नुहुन्छ भने, अमेरिकी सरकारले आफ्नो पूर्ण शक्ति प्रयोग गर्नेछ।’

उपराष्ट्रपति जेडी भान्सले पनि यो आर्थिक दबाबलाई अमेरिकाको सबैभन्दा प्रभावकारी उपकरणको रूपमा वर्णन गरेका छन्।

उनले भने, ‘उनीहरूले हामीमाथि आर्थिक दबाबको प्रयास गरे, तर उनीहरूले हामीभन्दा धेरै बढी दबाब महसुस गरेका छन्।’ यसअघि अमेरिकाले नौसेना नाकाबन्दी र वित्तीय प्रतिबन्धहरू समावेश गरी ‘अपरेशन इकोनोमिक फ्युरी’ को घोषणासमेत गरिसकेको छ।

सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै इरानले अमेरिकी प्रतिबन्धहरूको सामना गर्दै आएको छ। हालको नयाँ रणनीतिले इरानसँग व्यापार गर्ने तर अमेरिकी डलरमा निर्भर अर्थतन्त्र भएका तेस्रो देशहरूलाई लक्षित गर्नेछ। विश्लेषकहरूका अनुसार यी प्रतिबन्धहरूको सफलता अन्य देशहरूको प्रतिक्रियामा निर्भर हुनेछ।

विशेष गरी चीनले इरानसँग ठुलो मात्रामा तेल खरिद गर्दै आएको छ। यसबारे प्रतिक्रिया दिँदै वाशिंगटनस्थित चिनियाँ दूतावासले प्रतिबन्ध र दबाबले समस्या समाधान गर्न मदर्त नगर्ने बताउँदै राजनीतिक र कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न आह्वान गरेको छ।

इरानका विदेशमन्त्री अब्बास अराघाचीले ट्रम्पको यस चेतावनीलाई घरेलु वित्तीय समस्याहरूबाट अमेरिकी जनताको ध्यान हटाउने प्रयासको रूपमा टिप्पणी गरेका छन्। ट्रम्पमाथि पनि आफ्नै देशमा युद्ध अन्त्य गर्न र बढ्दो इन्धन मूल्य नियन्त्रण गर्न ठुलो दबाब रहेको छ।

विज्ञहरूका अनुसार अमेरिकाले घोषणा गरेका यी कडा प्रतिबन्धहरूले कति प्रभाव पार्छ र यसले इरानको आपूर्तिलाई कसरी असर गर्छ भन्ने कुरा आगामी दिनमा मात्र स्पष्ट हुनेछ।