तुल्सीलाल अमात्यका आदर्शलाई वर्तमान पुस्ताले आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन तथा किसान आन्दोलनका अग्रणी नेता स्वर्गीय तुल्सीलाल अमात्यको त्याग, सिद्धान्तनिष्ठा र जनसेवाको आदर्श वर्तमान तथा भावी पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनु भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित स्वर्गीय तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै उहाँले अमात्यले व्यक्तिगत सुविधा र सम्पन्नताको बाटो त्यागेर किसान, मजदुर तथा उत्पीडित समुदायको हक–अधिकारका लागि जीवन समर्पित गरेको उल्लेख गर्नुभयो ।
उहाँले तुल्सीलाल अमात्यले नेपाल कम्युनिष्ट पार्टीको निर्माण, किसान आन्दोलनको विस्तार, लोकतान्त्रिक अधिकारको संरक्षण तथा शोषणविरुद्धको आन्दोलनलाई सशक्त बनाउन महत्त्वपूर्ण योगदान दिएको बताउनु भयो ।
विशेषगरी बारा, रौतहट र सर्लाही क्षेत्रमा उनको नेतृत्वमा भएको किसान आन्दोलनले किसानमा अधिकारप्रतिको चेतना जगाउन र सामाजिक परिवर्तनको आधार तयार गर्न उल्लेखनीय भूमिका खेलेको उहाँको भनाइ थियो।
पूर्वराष्ट्रपति भण्डारीले राणा शासनदेखि पञ्चायती व्यवस्थासम्म जेल, निर्वासन र सम्पत्ति जफतजस्ता अनेकौँ कठिनाइ भोगे पनि तुल्सीलाल अमात्य आफ्नो सिद्धान्तबाट कहिल्यै विचलित नभएको उल्लेख गर्नुभयो ।
उहाँले आज प्राप्त लोकतान्त्रिक उपलब्धिको आधारमा त्यस्ता अग्रजहरूको लामो संघर्ष, त्याग र समर्पण रहेको भन्दै उनीहरूको योगदानको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले लोकतान्त्रिक मूल्य, सार्वजनिक जीवनमा नैतिकता, सुशासन र जनउत्तरदायित्वबारे बहस भइरहेका बेला तुल्सीलाल अमात्यको जीवनले राजनीति व्यक्तिगत लाभका लागि नभई समाज र राष्ट्रको सेवाका लागि हुनुपर्छ भन्ने सन्देश दिने बताउनु भयो ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक सभापति एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तथा पूर्वसभापति एवं पूर्वमन्त्री केशवप्रसाद बडाललाई सम्मान गरिएको उल्लेख गर्दै भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा नेपालको योगदान तथा किसान आन्दोलन र भूमि सुधारसम्बन्धी नीतिगत बहसमा बडालको योगदानको प्रशंसा गर्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले हाल सुनसरीलगायत पूर्वी तराईका केही जिल्लामा देखिएको सामुदायिक तनाव र हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएकाले विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भयो ।
उहाँले अफवाह, घृणा र विभाजन फैलाउने प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासन सुदृढ बनाउन सबै नेपालीलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ ।

