पूर्व राष्ट्रपति भण्डारीद्वारा निर्मल पुर्जासहित पर्वतारोहीहरूको निधनप्रति दुःख व्यक्त

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा सहित ६ जना नेपाली र ४ जना विदेशी आरोहीको दुःखद् निधन भएको खबरले आफूलाई अत्यन्त मर्माहत बनाएको बताउनुभएको छ।

एक सन्देश जारी गर्दै उहाँले विश्वप्रसिद्ध आरोही स्वर्गीय निर्मल पुर्जाले आफ्नो अदम्य साहस, असाधारण क्षमता र ऐतिहासिक कीर्तिमानमार्फत नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमञ्चमा विशिष्ट पहिचान दिलाउनुका साथै सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाउनुभएको उल्लेख गर्नुभएको छ। साथै, उहाँसहित दिवङ्गत सबै आरोहीहरूले पर्वतारोहणको क्षेत्रमा पुऱ्याउनुभएको योगदान सदैव स्मरणीय रहने उहाँले बताउनुभएको छ।

पूर्व राष्ट्रपति भण्डारीले यस दुःखद् घटनामा ज्यान गुमाउनु भएका सबै दिवङ्गत आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको शोकाकुल परिवार, आफन्त तथा शुभेच्छुकहरूमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ।