पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले ३० लाख रुपैयाँसम्म बुझाउनुपर्ने

काठमाण्डौ ।   अमेरिकाले पर्यटक वा व्यावसायिक भिसाका लागि आवेदन गर्दा धरौटी बुझाउनुपर्ने एउटा कार्यक्रमलाई स्थायी बनाउँदै त्यसका लागि बुझाउनुपर्ने धरौटी रकमलाई बढाएर २० हजार डलरसम्म अर्थात् ३० लाख ४१ हजार नेपाली रुपैयाँ भन्दा धेरै पुर्‍याएको छ ।

अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विभिन्न ५० वटा देशलाई भिसा बन्ड बुझाउनुपर्ने सूचीमा राखेको छ । नयाँ व्यवस्थाअनुसार नेपाल, बङ्गलादेश र भुटानसहित ५० देशका नागरिकले अमेरिकी बी–वान अर्थात् व्यावसायिक र बी–टू अर्थात् पर्यटक भिसाका लागि आवेदन दिँदा यो धरौटी राख्नुपर्नेछ ।

एक वर्षको समीक्षापछि यो कार्यक्रम प्रभावकारी देखिएकाले स्थायी बनाउने निर्णय गरिएको अमेरिकी फेडरल रजिस्टरमा प्रकाशित सूचनामा उल्लेख छ । यसअघि परीक्षण कार्यक्रमअन्तर्गत ५ हजार, १० हजार र १५ हजार डलरसम्मको बन्ड राख्ने व्यवस्था थियो ।

अब भने ५ हजार डलरको विकल्प हटाइएको छ भने अधिकतम रकम २० हजार डलर पुर्‍याइएको छ । अब बन्ड रकम १० हजार वा २० हजार डलर मात्र हुनेछ । नयाँ नियमअनुसार सम्बन्धित देशका नागरिकले भिसा अन्तर्वार्ताअघि नै बन्ड रकम जम्मा गर्नुपर्ने छ ।

भिसा अस्वीकृत भयो भने रकम फिर्ता हुनेछ । भिसा स्वीकृत भई अमेरिका पुगेपछि पनि यात्रुले भिसाका सबै नियम पालना गरेमा बन्ड रकम फिर्ता पाइनेछ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गएको वर्ष अगस्टमा अवैध आप्रवासन नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम शुरु गरेको थियो ।