राजनीति व्यक्तिगत लाभका लागि नभई समाज र राष्ट्रको सेवाका लागि हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति व्यक्तिगत लाभका लागि नभई समाज र राष्ट्रको सेवाका लागि हुनुपर्नेमा जोड दिनुभएको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानको आयोजनामा च्यासल, ललितपुरस्थित तुल्सीलाल स्मृति भवनमा भएको नेपाल कम्युनिष्ट आन्दोलनका अग्रज नेता तुल्सीलाल अमात्यको २९औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।
कम्युनिष्ट, लोकतान्त्रिक तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व अमात्यले आठ दशकअघि नै एम.ए. पास गरेर पनि व्यक्तिगत सुविधा र सम्पन्नताको बाटो नरोजी किसान, मजदुर र उत्पीडित समुदायको अधिकारका लागि कठिन संघर्षको बाटो रोजेको उहाँले स्मरण गर्नुभयो। राणाशासनदेखि पञ्चायती व्यवस्थासम्म विभिन्न कष्ट झेले पनि उहाँ सिद्धान्तबाट विचलित नभएको पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो।
कार्यक्रममा हालै मुलुकमा उत्पन्न विशेष परिस्थितिप्रतिको धारणा राख्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले सुनसरी लगायत पूर्वी तराईका केही जिल्लाहरूमा देखिएका सामुदायिक तनाव र हिंसात्मक घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै उहाँले विविधताबीचको एकता र सामाजिक सद्भाव नै राष्ट्रिय एकताको आधार भएको प्रष्ट पार्नुभयो। साथै, उहाँले सम्पूर्ण देशवासीलाई संयम अपनाउन, अफवाह र विभाजनका प्रयासबाट टाढा रहन तथा सामाजिक सद्भाव सुदृढ बनाउन जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गर्नुभएको छ।
कार्यक्रममा प्रतिष्ठानको स्थापना र विकासमा योगदान पुर्याउने संस्थापक सभापति एवं पूर्वप्रधानमन्त्री श्री माधवकुमार नेपाल र पूर्वसभापति एवं पूर्वमन्त्री श्री केशवप्रसाद बडाल सम्मानित हुनुभएको छ। त्यसैगरी, मरणोपरान्त प्रतिष्ठानका संस्थापक उपसभापति स्वर्गीय श्रीमती कमला अमात्य र संस्थापक सचिव स्वर्गीय श्री भीमप्रसाद उपाध्यायको योगदानको उच्च कदर गरिएको छ।
सोही अवसरमा तुल्सीलाल स्मृति दिवसको सन्दर्भमा आयोजित उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

