शिक्षाले नैतिक र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नुपर्छ : राष्ट्रपति पौडेल
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षाले ज्ञान र सीपसँगै नैतिकता, अनुशासन, सिर्जनशीलता, सहकार्य, करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नुपर्ने बताउनु भएको छ ।
उहाँले शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारी बोधको विकास गर्ने सशक्त माध्यम भएको बताउनु भयो। शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बनाउन सहयोग गर्नुपर्ने उहाँको भनाइ छ।
नेपाल विभिन्न भाषा, संस्कृति, परम्परा र जीवन पद्धतिले समृद्ध देश भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो।
सूचना प्रविधिको द्रुत विकास भइरहेको आधुनिक युगमा नेपालको शैक्षिक प्रणालीले भविष्यमा आवश्यक पर्ने जनशक्तिबारे स्पष्ट दृष्टिकोण बनाउनुपर्नेमा उहाँले जोड दिनु भयो।

