पूर्वसांसद एवं नेता घनेन्द्र बस्नेतको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रज नेता एवं पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ।
उहाँको निधनको खबरले आफूलाई अत्यन्त मर्माहत बनाएको भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमार्फत गहिरो शोक तथा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। पूर्वराष्ट्रपति भण्डारीले शोक वक्तव्यमा बस्नेतले निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको लोकतान्त्रिक संघर्षमा आफ्नो जीवनको महत्वपूर्ण समय समर्पित गरेको स्मरण गर्नुभएको छ।
राजनीतिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र सामाजिक परिवर्तनका लागि संघर्ष गर्ने क्रममा उहाँले १७ वर्ष लामो जेल जीवनसहित अनेकौं दुःख, कष्ट र कठिनाइहरू भोग्नुपरेको थियो। यस्तो कठोर परिस्थितिका बाबजुद पनि उनी आफ्नो राजनीतिक निष्ठा र आदर्शप्रति सदैव दृढ रहेको वक्तव्यमा उल्लेख छ।
नेता बस्नेतको सरल जीवन, निष्ठा, त्याग र निरन्तर राजनीतिक सक्रियताले नेपाली वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान सधैं स्मरणीय रहने पूर्वराष्ट्रपति भण्डारीले बताउनुभएको छ। साथै, दिवंगत नेताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसतप्त परिवार, आफन्त, सहकर्मी तथा शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।


