ट्रम्पले बढाएको एच–वान बी भिसा शुल्कमा अदालतको रोक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ एच–वान बी भिसामा लगाएको एक लाख अमेरिकी डलर शुल्क कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।

क्यालिफोर्नियाको ओकल्यान्डमा रहेको अमेरिकी जिल्ला अदालतका न्यायाधीश हेउड गिलियमले शुल्क लागू गर्नुअघि सरकारले आवश्यक नियम निर्माण प्रक्रिया पूरा नगरेको भन्दै अन्तिम फैसला नआएसम्म शुल्क कार्यान्वयनमा रोक लगाउनुभएको राेयटर्सले जनाएको छ  ।

यसअघि पनि बोस्टनको एक सङ्घीय अदालतले २० वटा राज्यले दायर गरेको मुद्दामा यही शुल्कमाथि अस्थायी रोक लगाएको थियो । एच–वान बी भिसा अमेरिकी रोजगारदाताले विशेष दक्षता भएका विदेशी कामदारलाई रोजगारी दिन प्रयोग गर्ने कार्यक्रम हो । विशेषगरी प्रविधि क्षेत्रमा यो भिसाको व्यापक प्रयोग हुँदै आएको छ ।

ट्रम्प प्रशासनले अमेरिकी कामदारको संरक्षण र एच–वान बी कार्यक्रमको दुरुपयोग रोक्ने भन्दै शुल्क बढाएको थियो । तर, रोजगारदाता, व्यापारिक संस्था र अन्य समूहले राष्ट्रपतिलाई एकतर्फी रूपमा यस्तो शुल्क तोक्ने अधिकार नभएको भन्दै अदालतमा चुनौती दिएका छन् ।