समस्याको पहिचानबाट समाधानतर्फ एमबीएमसी आइडिया एक्स नेशनल ह्याकाथन-२०२६

दोस्रो दिन २० टोलीका विद्यार्थी सूचना प्रविधिजन्य नवप्रवर्तनको खाका  तयार पार्ने अन्तिम चरणमा, भोलि बेलुका समापन, सर्वोत्कृष्टलाई रु. १,११,१११ नगद पुरस्कार

सुनील पौडेल, काठमाडौं, असोज १७ । कसैले बाढीपहिरोको चेतावनी पुर्‍याउने उपाय खोजिरहेका छन् त कसैले महिलाका लागि आवागमनको सुरक्षित बाटो । कोही हिमाली बाटोमा हराएका ट्रेकरसम्म सन्देश पुर्‍याउने प्रविधिको अन्वेषणमा लागेका छन् ।

नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) मा जारी राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ शनिबार दोस्रो दिनमा प्रवेश गरेको छ । देशभरका १६० सहभागीमध्ये प्रतिष्पर्धाबाट छनोट भई अन्तिम २० मा पर्न सफल  टोलीका विद्यार्थीहरु नेपाली समाजमा विद्यमान समस्याका सूचनाप्रविधिमा आधारित समाधान खोज्दै निरन्तर आविष्कारको काममा तल्लिन छन् ।

फाइनल राउन्डमा पुगेका सबै टोली दिनभर आ-आफ्नो परियोजनाको नमुना प्रारूप (प्रोटोटाइप)को विकासमा निरन्तर संलग्न रहे । टोलीहरूलाई आइटी विज्ञहरु शिशिर सापकोटा, रुपेश नेपाल, आशुतोष देवकोटा, निर्जल पौडेल, सुरेश बस्नेत र समीक्षा खड्कालगायतले मेन्टरशिप सहयोग उपलब्ध गराएका थिए । टोलीले आफ्ना विचार, नमुना प्रारूप र समाधानका उपायहरुको खोजीमा क्रमशः काम अघि बढाए । आयोजकले प्रतिस्पर्धमा सहभागी  टोलीको विकास अवधिलाई पाँच चरणमा बाँडेको छ । बिहानको खाजा, दिउँसो र बेलुकाको भोजनका लागि बीचबीचमा अन्तराल राखिएको थियो । चिया–खाजा र परस्पर भेटघाटको वातावरणबीच टोलीले मार्गदर्शक (मेन्टर), निर्णायक, आयोजक, प्राध्यापक र स्वयंसेवकसँग पनि आफ्नो योजनाहरु बारे अन्तरक्रिया गरे ।

हिजो, असोज १६ गतेको उद्घाटन समरोहमा कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले भनेका थिए, “सहभागी विद्यार्थी टोलीले नेपाल-केन्द्रित समस्याको सूचना प्रविधिमा आधारित समाधानको खोजी गर्नेछन् ।” त्यस्तै क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले “आइडियाएक्स विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई समाजका वास्तविक समस्यासँग जोड्न सकून् भन्ने उद्देश्यले सुरु गरिएको मञ्च हो” भनेका थिए ।

उद्घाटन कार्यक्रममा भनिए जस्तै सहभागी टोलीले आयोजकलाई बुझाएको विवरणअनुसार परियोजनामा नेपाली जनजीवनमा व्याप्त केही खास समस्या र तिनको समाधानको खोजी देखिन्छन् । जलवायु क्षेत्रमा कम लागतका सेन्सर ‘लोरा’,  रेडियो प्रविधिबाट बाढी–पहिरोको पूर्वसूचना दिने ‘हिमालयन रिजिलियन्स ग्रिड’, घारमा रानी मौरी नभएको अवस्था आवाजबाट पत्ता लगाउने ‘बीगार्ड’, यातायातमा ट्राफिक नियम उल्लङ्घन पहिचान गर्ने ‘त्रिनेत्र’, महिलाका लागि सुरक्षित बाटो सिफारिस गर्ने ‘हरगार्डियन’ र दूरीका आधारमा बस भाडा गणना गर्ने ‘भाडा’, पर्यटनमा सम्पर्क सञ्जालविहीन क्षेत्रमा आपत्कालीन सन्देश पठाउन सकिने ‘सेफट्रेल्स’, फिनटेकमा साना व्यवसायीको ऋण जोखिम मूल्यांकन गर्ने ‘ट्रस्टलेयर’, ई-गभर्नेन्समा सरल भाषामा कानुन बुझाउने ‘विधान’ तथा नागरिक उजुरी व्यवस्थापन गर्ने ‘नगरसेवा’ जस्ता समाधानमुखी आविष्कार देखिन्छन् । यी सबै परियोजनाहरु प्रतिष्पर्धा अवधिको ४८ घण्टाभित्र प्रस्तुत हुने प्रारम्भिक नमुना परियोजनाहरु हुन् ।

मदन भण्डारी मेमोरियल कलेजको बिसिए कार्यक्रम संयोजक तथा एमबीएमसी आइडिया एक्स २०२६ का संयोजक नवराज जोशी भन्छन्  “ हिजोदेखि सहभागीले समस्या पहिचान गर्ने, प्रोटोटाइप बनाउने काम गरिरहेका छन्, भोलि निर्णायकसमक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन् ।” उनका अनुसार सुरुमा १६० टोली दर्ता भएका थिए । उनीहरुले प्रस्तुत गरेको परियोजनाहरुको अनलाइन मूल्यांकनपछि अन्तिम चरणमा पुगेका २० टोलीमा २८ शैक्षिक संस्थाका ६७ प्रतियोगी सहभागी छन् ।

सहभागी हरेक टोलीले आफ्नो  परियोजनाको परिचय, समस्याकथन , समाधानक उपाय  र प्रविधि  नमुना प्रारूप सम्बन्धी विवरण ई-बुलेटिनका लागि आयोजकलाई बुझाएका छन् । कार्यक्रम सम्पन्न भएपछि आयोजकले ई-बुलेटिन प्रकाशन गर्ने जनाएको छ ।

संयोजक जोशीका अनुसार कार्यक्रम भोलि, असोज १८ गते बेलुका ४ बजे कलेजको सभाहलमा हुने समापन समारोहसँगै सम्पन्न हुनेछ । उक्त समारोहमा पहिलो, दोस्रो र तेस्रो हुने टोली पुरस्कृत हुनेछन् । सर्वोत्कृष्ट टोलीले रु. १,११,१११ नगद पाउनेछ ।

क्याम्पस प्रमुख डा. अधिकारीका अनुसार चौथो संस्करणसम्म आइपुग्दा कलेजले एमबीएमसी आइडियाएक्सलाई कक्षाकोठाका सिकाइलाई समाजका वास्तविक समस्या र तिनको समाधानसँग जोड्ने राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्दै लगेको छ । यस्ता कार्यक्रमहरुले सधैं निरन्तरता पाइरहने आशा र प्रतिबद्दता समेत उनले व्यक्त गरेका छन् ।