ग्यास आजदेखि पुरानै मूल्यमा
काठमाडौँ । काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि प्रतिसिलिन्डिर पुरानै मूल्य दुई हजार ६० रुपियाँमा ग्यास पाउने भएका छन् ।
राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित छलफलमा नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले भोलिदेखि नै पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभयो ।
भदौ १४ गते कृष्णभिरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यासका बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यार भरेर सिलिन्डर ल्याउनु पर्दा लागत बढेकाले ग्यास उद्योगीले भाउ बढाएका थिए । जस अनुसार कायम मूल्यमा १०५ रुपियाँ ३८ पैसा थपेर दुई हजार १६५ रुपियाँ ३८ पैसा कायम गरिएको थियो । अध्यक्ष चन्दले ग्यासको सहज आपूर्ति भयो भने छिट्टै नै उपभोक्ताले घरछेउकै विक्रेताबाट ग्यास सिलिन्डर साट्न पाउने व्यवस्था हुने बताउनुभयो ।
काठमाडौँ उपत्यकामा ग्यासका बुलेट भित्रिन थालिसकेकाले भोलिदेखि नै ग्यास आपूर्ति पनि सहज हुने जानकारी गराइएको छ ।
आपूर्ति मन्त्रालय आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव जितेन्द्र बस्नेतले नेपालमा थप १६० वटा एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक देखिएकाले छिट्टै सहज हुने जानकारी दिनुभयो । उहाँले मासिक ५० हजार मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी ग्यास आपूर्ति गर्न कूटनीतिक पहल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार थप १६० वटा ग्यास बुलेट उपलब्ध गराउन भारत सरकारबाट सकारात्मक प्रतिक्रिया आएको छ ।
प्रतिनिधि सभाका सदस्य तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सदस्य प्रकाशसिंह कार्कीले ग्यासको समस्या व्यवसायीका कारण नभई बिचौलियाका कारण उत्पन्न भएको दाबी गर्नुभयो । प्रवक्ता बस्नेतले घरमा चल्तीको सिलिन्डर र अतिरिक्त सिलिन्डर भएका उपभोक्तासमेत लाइन बसेर थप स्टक राख्न खोज्दा समस्या जटिल बनेको बताउनुभयो । उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले ग्यासको अभाव, चिनी, चामललगायत खाद्यवस्तुको मूल्यवृद्धि तथा बजार अनुगमन र बजार नियमन प्रणाली नै कमजोर रहेको बताउनुभयो ।

