त्रिशूली बाढीपीडितका लागि मदन भण्डारी कलेजद्वारा आर्थिक सहयोग

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले नुवाकोटको विदुर नगरपालिका–१, त्रिशूलीस्थित त्रिवेणी किनार क्षेत्रमा हालै आएको बाढीबाट प्रभावित परिवारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

कलेजले गत भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावित भएका समुदायको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले २५ हजार आर्थिक सहायता प्रदान गरेको हो ।

कलेजले विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै शैक्षिक समुदायबीच सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

कलेज प्रमुख डा.बाबुराम अधिकारीले विपद्को यस कठिन घडीमा प्रभावित परिवारहरूको शीघ्र पुनर्स्थापनाको कामना गर्दै आवश्यक सहयोगका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ ।

मदन भण्डारी मेमोरियल कलेजले शिक्षा क्षेत्रसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय तथा सामुदायिक गतिविधिमा निरन्तर योगदान दिँदै आएको छ।