कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने
काठडमाण्डौ । अहिले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, खोटाङ, लमजुङ र कैलालीका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । गएराति गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा वर्षा भयो ।
पछिल्लो १२ घण्टामा लमजुङमा ७९ मिलिमिटरसम्म वर्षा भएको छ । गण्डकी प्रदेशदेखि पूर्वका क्षेत्रमा तुलनात्मक रूपमा बढी वर्षा भए पनि पश्चिमी क्षेत्रमा कम वर्षा भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना छ । त्यस्तै, बागमती प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण पहाडी क्षेत्रमा सडक तथा यातायात प्रभावित हुनसक्ने र नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

