आज पनि देशको पहाडी भू–भागमा ठूलो वर्षाको सम्भावना
काठमाण्डौ। अहिले नुवाकोट, धादिङ, गोरखा, चितवन, सिन्धुपाल्चोक र लमजुङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मधेश प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए राति गण्डकी र बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको मेलम्ची र रुपन्देहीको तिलोत्तामा सबैभन्दा धेरै ९२ मिलिमिटर वर्षा मापन भएको छ ।
यसै गरी नुवाकोटको ककनी, नवलपरासीको सिमरी, तनहुँको खैरेनी, गोरखा, लमजुङको भोर्लेटार र डोटीमा पनि मध्यमदेखि ठूलो वर्षा भएको छ । कास्कीको मोदी खोला, काठमाण्डौको बागमती नदी र लमजुङको मर्स्याङ्दी नदीमा बाढी आएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज पनि देशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

