बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

काठमाण्डौ ।  रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।

अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा ६७५ जनाको शव भेटिएको छ ।

सबैभन्दा बढी चितवनमा २४६ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ । यसैगरी रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३ र तनहुँमा ३५ जनाको शव भेटिएको छ ।

दुई हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी भैरहेको प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म ७ हजार ५१४ जनाको उद्धार भएको छ । जलविद्युतको सुरुङबाट २७९ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारका लागि १८ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।