धादिङ र गोरखाको सीमा क्षेत्र र कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीमा भारी वर्षा
काठमाण्डौ । पछिल्लो २४ घण्टामा धादिङ र गोरखाको सीमा क्षेत्र तथा कञ्चनपुर, सिन्धुपाल्चोक,अर्घाखाँची जिल्लाका केही ठाउँका धेरै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उसका अनुसार यो अवधिमा कञ्चनपुरमा सबैभन्दा धेरै १४१ मिलिमिटर वर्षा भएको छ। २४ घण्टामा १०० मिलिमिटरदेखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ। कञ्चनपुरमा शनिबारदेखि आज बिहानसम्म वर्षा भइरहेको विभागले जनाएको छ।
गोरखा स्थित आरुघाट स्टेशनमा १२४.४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ। जसको कारणले धादिङ र गोरखाको सिममा पनि भारी वर्षा भएको हो।
सोहो अवधिमा सिन्धुपोल्चोकमा १२३.२ र अर्घाखाँची ११५।२ मिलिमिटर वर्षा भएको छ। पछिल्ला केही दिन सिन्धुपाल्चोकमा निरन्तर मध्यमदेखि धेरै भारी वर्षा भइरहेको छ।
पछिल्लो २४ घण्टामा लुम्बिनीको केही जिल्लाका साथै गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भएको छ। अन्य ठाउँमा मध्यमदेखि सामान्य वर्षा मापन भएको विभागको तथ्यांकमा उल्लेख छ। बिहान भने यी क्षेत्रमा वर्षा कम हुँदै गएको छ।
पछिल्ला २४ घण्टामा धेरै वर्षा भएका जिल्लामा रहेका नदी तथा खोलामा बाढीको जोखिम पनि बढेको छ। कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा बाढीको जोखिम रहेको विभागले जनाएको छ। ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सचेत गराइएको छ।

