जोर्डनको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दाबी
एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी)ले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ ।
आईआरजीसीका अनुसार इरानको लाराक द्वीपमा अमेरिकी सेनाले गरेको आक्रमणको जवाफी कारबाहीस्वरूप जोर्डनका किङ हुसेन र अल अज्राक सैन्य अड्डालाई लक्षित गरिएको हो । आक्रमणबाट सैन्य पूर्वाधार तथा लडाकु विमान तैनाथ गर्ने क्षेत्रमा ठूलो क्षति पुगेको अल जजिराले जनाएको छ ।
यसअघि अमेरिकी अधिकारीहरुले लाराक द्वीपमा इरानी रिभोलुसनरी गार्डका दुई रकेट प्रक्षेपण केन्द्रमा अमेरिकी सेनाले बमबारी गरेको बताएका थिए । ती प्रक्षेपण केन्द्रबाट हर्मुज जलमार्गतर्फ समुद्री सुरुङ लैजाने तयारी भइरहेको अमेरिकाको दाबी थियो ।
लाराक आक्रमणमा केही इरानी सैनिक तथा सर्वसाधारण मारिएको र घाइते भएको खबरमा उल्लेख छ । यद्यपि, मृतक तथा घाइतेको यकिन संख्या सार्वजनिक गरिएको छैन । यस घटनासँगै अमेरिका र इरानबीचको तनाव फेरि बढ्ने संकेत देखिएको छ ।

