मदन भण्डारी मेमोरियल विद्यालयमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

काठमाण्डौ । मदन भण्डारी मेमोरियल माध्यमिक विद्यालयमा २०८३ सालको शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई एक भव्य समारोहबीच स्वागत गरिएको छ।

आज कलेजको सभाहलमा कक्षा १२ का विद्यार्थीहरुद्वारा कक्षा ११ का विद्यार्थीहरुलाई  भव्यताका साथ स्वागत गरिएको हो । औपचारिक र अनौपचारिक गरि दुई खण्डमा सञ्चालीत उक्त कार्यक्रमको सुभारम्भ प्रमुख अतिथि एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डेगेन्द्र पाण्डेले द्वीप प्रज्वलन गरी गर्नुभएको थियो ।

अध्यक्ष पाण्डेले विद्यार्थीहरुलाई आफ्नो विद्यार्थी जीवनको कदर गर्न र माध्यमिक तह पूरा गरेपछि के बन्ने ? के पढ्ने ? भन्ने योजना बेलैमा बुन्न आग्रह गर्नुभयो । त्यसो गरेमा अगामी शैक्षिक सत्र सफल हुने उहाँको जोड छ । सिक्ने र सिकाउने कुरामा पछाडि नहट्न तथा पढाइसंगै व्यक्तिगत आचरणलाई पनि सुधार गर्न महत्वपूर्ण कार्यकारुपमा लिन उहाँले आग्रह गर्नुभयो । उहाँले कक्षा ११–१२ को दुई वर्ष विद्यार्थीको सम्पूर्ण जीवनको आधार निर्माण गर्ने समय भएकाले समयको सदुपयोग, अनुशासन र निरन्तर मेहनतमा जोड दिनुभयो।

उहाँले विद्यार्थीको सफलतामा परिवार, शिक्षक, विद्यालय प्रशासन, मदन भण्डारी फाउन्डेसन तथा सम्पूर्ण संस्थागत परिवारको साथ रहने विश्वास व्यक्त गर्नुभयो। विद्यार्थीहरूले पाठ्यक्रमको अध्ययनसँगै देशको इतिहास, भूगोल, राजनीति र सामाजिक विषयबारे पनि ज्ञान हासिल गर्नुपर्ने उहाँको भनाइ थियो। अध्यक्ष पाण्डेले विद्यालयमा प्रयोगशाला, सूचना प्रविधि प्रयोगशाला, सञ्चार तथा मिडिया प्रयोगशालालगायतका पूर्वाधार उपलब्ध रहेको उल्लेख गर्दै विद्यार्थीहरूले पाठ्यक्रमसँगै व्यावहारिक ज्ञान र सीप हासिल गर्ने अवसर प्राप्त गर्ने बताउनु भयो।

त्यस्तै कार्यक्रममा मदन भण्डारी मेमोरियल कलेजका निमित्त क्याम्पस प्रमुख प्रज्वलमान श्रेष्ठले सामुदायिक मूल्य मान्यतालाई प्राथमिकतामा राखेर कलेजले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनु भयो।  कक्षाकोठाको सिमित दायराबाट बाहिर निस्केर विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा कलेज सधैं प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

उहाँले विद्यार्थीहरूले विभिन्न शैक्षिक संस्थामध्ये मदन भण्डारी मेमोरियललाई छनोट गर्नु सही निर्णय भएको बताउनु भयो। उहाँले कलेजले कक्षा ११–१२ देखि स्नातक, स्नातकोत्तर हुँदै आगामी दिनमा एमफिल र विद्यावारिधिसम्मको अध्ययन सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढिरहेको जानकारी दिनुभयो। श्रेष्ठले  उहाँले शिक्षण प्रक्रिया कक्षाकोठामा मात्र सीमित नरहने भन्दै विद्यार्थीको नेतृत्व क्षमता, व्यक्तित्व विकास, सञ्चार सीप, सांस्कृतिक प्रतिभा तथा अतिरिक्त क्रियाकलापलाई समान महत्व दिइने बताउनुभयो।

त्यसैगरि आयोजित स्वागत कार्यक्रममा स्वागत मन्तव्य राख्दै मदन भण्डारी मेमोरियल माध्यमिक विद्यालयका प्रिन्सिपल कमल न्यौपानेले एसईईमा सफलता हासिल गरी विद्यालयमा अध्ययनका लागि आएका विद्यार्थीहरूलाई बधाई दिँदै अबको दुई वर्ष भविष्य निर्माणको सबैभन्दा महत्वपूर्ण समय भएको बताउनुभयो। उहाँले विद्यार्थीलाई केवल राम्रो नतिजा मात्र होइन, समाजमा सम्मानित र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभयो।

प्रिन्सिपल न्यौपानेले कक्षा ११–१२ विश्वविद्यालय शिक्षाको प्रवेशद्वार भएकाले विद्यार्थीहरूले अहिले नै आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले विद्यालय तथा कलेजका एक सयभन्दा बढी शिक्षक–कर्मचारी विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासका लागि सधैं प्रतिबद्ध रहेको पनि बताउनुभयो।

उहाँले पाठ्यपुस्तकको ज्ञान मात्र पर्याप्त नहुने भन्दै प्रयोगात्मक सिकाइ, अनुसन्धानमुखी अध्ययन र मेहनतको संस्कृतिलाई आत्मसात् गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। अनुशासन, मर्यादा, व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जिम्मेवारीप्रति सचेत रहँदै कडा परिश्रमका लागि तयार हुनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा  विद्यार्थीहरूले कलेजको वातावरण अनुकूल बन्दै आफ्नो दुई वर्षे उच्च माध्यमिक शिक्षालाई सफलताका साथ अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।  कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले नयाँ विद्यार्थीलाई स्वागत गर्दै अध्ययन, अनुशासन र सहकार्यका अनुभव साझा गरेका थिए।

कार्यक्रममा सहायक क्याम्पस प्रमुखतारा प्रसाद गौतम , विभिन्न संकायका विभागीय प्रमुखलगायत अन्य पदाधिकारी, शिक्षक, कर्मचारीहरुको उपस्थिति थियो । औपचारिक र अनौपचारिक गरी दुई खण्डमा सञ्चालित उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।

कार्यक्रमले नयाँ विद्यार्थीलाई विद्यालयको शैक्षिक वातावरणसँग परिचित गराउनु सहयोग पुगेको छ ।