इरानसँग सोमबारदेखि नयाँ वार्ता सुरु हुने : राष्ट्रपति डोनाल्ड ट्रम्प
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सोमबारदेखि नयाँ वार्ता सुरु हुने बताउनु भएको छ। उहाँले इरानमाथि गर्ने तयारीमा रहेको ठूलो सैन्य आक्रमण मध्यपूर्वी सहयोगी राष्ट्रहरू र इरानको आग्रहपछि स्थगित गरिएको दाबी गर्नुभएको छ ।
यद्यपि, इरानले ट्रम्पको दाबी अस्वीकार गरेको छ । इरानको अर्धसरकारी मेहर समाचार एजेन्सीले तेहरानले अमेरिकासँग सैन्य कारबाही रोक्न कुनै आग्रह नगरेको भन्दै ट्रम्पको भनाइलाई ‘नयाँ झुट’ भनेको छ । ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघ्चीले ओमानको मध्यस्थतामा भइरहेको होर्मुजसम्बन्धी वार्ता अन्तिम चरणमा पुगेको बताउनु भएको छ । तर, सोमबार हुने भनिएको अमेरिका–इरान वार्ता कहाँ र कसको सहभागितामा हुने भन्ने विषयमा अमेरिकाले अझै स्पष्ट जानकारी दिएको छैन ।

