बेल्जियमलाई २–१ गोलले हराउँदै स्पेन विश्वकप फुटबलको सेमिफाइनलमा

फिफा विश्वकप फुटबलमा बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खेलमा बेल्जियम २–१ गोलले पराजित भएको हो ।

स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एकरएक गोल गरे । खेलको ३०औँ मिनेटमा रुइजको गोलबाट स्पेनले अग्रता बनाएको थियो । तर खेलको ४१औँ मिनेटमा बेल्जियमका चाल्र्स डे केटलेरले गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भयो ।

खेलको दोस्रो हाफको ८८औँ मिनेटमा स्पेनका मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई १६ वर्षपछि सेमिफाइनलमा पुर्‍याउन सफल भए । स्पेनले यसअघि सन् २०१० मा विश्वकप उपाधि जितेको थियो ।

त्यसपछि सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको टोली सन् २०१८ र २०२२ मा अन्तिम–१६ मा पुगेको थियो । स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

पहिलो क्वाटरफाईनल खेलमा साविक उपविजेता फ्रान्स मोरक्कोलाई २ गोलले हराउँदै यसअघि नै सेमिफाइनमा पुगिसकेको छ ।

विश्वकप फुटबलको तेस्रो क्वार्टरफाइनलमा भोलि बिहान पौने ३ बजे नर्वे र इङ्ग्ल्यान्ड तथा अन्तिम क्वार्टरफाइनलमा भोलि बिहान पौने ७ बजे साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डले खेल्नेछन् ।