कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडीका चालकको शव भेटियो
कर्णाली नदीमा खसरे बेपत्ता भएको फोर्स गाडीका चालक तुलाराम सुवेदीको शव ९ दिनपछि फेला परेको छ ।
१८ असारमा सुर्खेतबाट कालीकोट जाँदै गरेको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७, साङ्गेटाडाबाट कर्णाली नदीमा खसेको थियो । शनिबार सुवेदीको शव अछामको तुर्माखाँद गाउँपालिका– २, जबुगडास्थित लामगडामा कर्णाली नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान उहाँका बुबा डण्डपाणि सुवेदीले गर्नुभयो ।
तुलारामको शव फेला परेसँगै उक्त दुर्घटनामा हालसम्म चार जनाको शव फेला परेको छ । प्रहरीका अनुसार गाडीका सह–चालक रामप्रसाद सुवेदी अझै बेपत्ता छन् । गाडीमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त गाडी तथा अन्य बेपत्ता व्यक्तिहरूको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूले कर्णाली नदी क्षेत्रमा निरन्तर जारी राखेका छन् ।

