सरकारले १० हजार हेक्टर धानखेतीलाई जलवायु उत्थानशील बनाउने
काठमाण्डौ । सरकारले कृषि क्षेत्रमा जलवायु परिवर्तनका कारण बढेको जोखिमलाई सम्बोधन गर्न धानखेतीलाई जलवायु अनुकूल बनाउने गरी आयोजना कार्यान्वयनमा ल्याएको छ ।
धानमा आधारित खेती र खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण आयोजना नाम दिइएको यो कार्यक्रमले नेपालको कृषि क्षेत्रलाई थप उत्पादनशील, दिगो र समावेशी बनाउने लक्ष्य राखेको छ ।
कृषि विभागले आज ललितपुरमा कार्यक्रम गरी आयोजनाबारे जानकारी दिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालय र कृषि विभागले संयुक्त रूपमा परियोजना कार्यान्वयन गर्ने भएका छन् । यो परियोजना विश्व वातावरण सुविधाको ८९ लाख ३२ हजार ४२० अमेरिकी डलर वित्तीय सहयोगमा सञ्चालित हुनेछ भने यसको पर्यवेक्षण संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठनले गर्नेछ ।
सन् २०३० डिसेम्बरसम्म ६० महिनाको अवधिका लागि सञ्चालन हुने यो परियोजनाले देशका ३ वटा प्रदेशका ४ वटा जिल्लालाई आफ्नो भौगोलिक कार्यक्षेत्र बनाएको छ । मधेश प्रदेशको महोत्तरी र सर्लाही, बागमती प्रदेशको नुवाकोट तथा लुम्बिनी प्रदेशको नवलपरासी जिल्लाका विभिन्न पालिकामा कार्यक्रम सञ्चालन गरिने कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।
आयोजना अवधिभर झन्डै १ लाख ६२ हजार ८०० जना किसानलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने लक्ष्य छ । यसका साथै १० हजार हेक्टर भूमिमा जलवायु अनुकूल प्रविधि अपनाएर धान खेती व्यवस्थापन गर्ने उद्देश्य छ ।

