मदन भण्डारी कलेजमा सामुदायिक क्याम्पसका नीतिगत सवालदेखि साइबर सुरक्षासम्म छलफल

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजको २५औँ वार्षिकोत्सवअन्तर्गत आयोजित साताव्यापी कार्यक्रमको पाँचौँ दिन आज सामुदायिक क्याम्पसका नीतिगत सवाल, शिक्षा र जनताको बहुदलीय जनवाद (जबज), लैङ्गिक हिंसा न्यूनीकरण, ट्राफिक जनचेतना, साइबर सुरक्षा तथा डिजिटल साक्षरतासम्बन्धी विषयमा छलफल गरिएको छ ।

‘जनताको बहुदलीय जनवाद (जबज) र शिक्षा’ विषयक संवादमा मदन भण्डारी फाउण्डेशनका केन्द्रीय कमिटी सदस्य तथा राजधानी प्रदेश कमिटी, नेकपा (एमाले) का सचिव मिलन धरेल सहभागी हुनुभएको थियो । उक्त सत्रको सहजीकरण कलेजका पत्रकारिता तथा आमसञ्चार विभागका संयोजक सुनिल पौडेलले गर्नुभयो ।

त्यस्तै ‘सामुदायिक क्याम्पसका नीतिगत सवाल’ विषयक संवादमा नेपाल पब्लिक क्याम्पस सङ्घका निवर्तमान अध्यक्ष शिवराज सन्जेल सहभागी हुनुभएको थियो भने कलेजका अध्यापक रवि राज बरालले सहजीकरण गर्नुभयो ।

समानान्तर रूपमा सञ्चालित सत्रहरूमा विद्यार्थीहरूलाई सामाजिक जिम्मेवारी, लैङ्गिक हिंसा न्यूनीकरण, ट्राफिक नियम, साइबर सुरक्षा तथा डिजिटल प्रविधिको सुरक्षित प्रयोगबारे जानकारी दिइएको थियो । ट्राफिक प्रहरी प्रतिनिधिले ट्राफिक नियम पालना गर्दै जिम्मेवार नागरिक बन्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

कलेजले २५औँ वार्षिकोत्सवका अवसरमा साताभर विभिन्न शैक्षिक, सामाजिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यसैक्रममा भोलि असार १३ गते कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा सामुदायिक भेला तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहनेछ ।