यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई प्रदान गरिने
काठमाण्डौ । यस वर्षको राष्ट्रिय पुरस्कार लेखक तथा अध्येता रमेश रुछेन राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई प्रदान गर्ने निर्णय गरिएको छ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा पुस्तक प्रकाशनमार्फत मदन भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानलाई दस्तावेजीकरण तथा प्रचार–प्रसार गर्न उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने फाउण्डेशनको नीति अनुसार पुरस्कार छनोट गरिएको हो ।
सम्बन्धित क्षेत्रका विज्ञहरू सम्मिलित स्वतन्त्र तीन सदस्यीय छनोट समितिको सिफारिसका आधारमा रमेश रुछेन राईद्वारा लिखित ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ कृतिलाई पुरस्कारका लागि छनोट गरिएको फाउण्डेशनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
इलाम जिल्लाको सूर्योदय नगरपालिका–११, केराबारीमा जन्मनुभएका राई लामो समयदेखि नेपाली राजनीति, विकास र समसामयिक विषयका स्वतन्त्र अध्येता तथा अनुसन्धानकर्ताका रूपमा सक्रिय रहँदै आउनुभएको छ ।
पुरस्कारस्वरूप लेखक राईलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिनेछ । पुरस्कार आगामी असार १४ गते आइतबार दिउँसो २ बजे राष्ट्रिय सभागृह, काठमाण्डौमा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ।
कार्यक्रममा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीसमेत आयोजना हुने बताइएको छ। गोष्ठीलाई अतिथि वक्ताका रूपमा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र उपेन्द्र यादवले सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यवाहक सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।


