विद्युत् भ्याट छुटबारे फैलाइएको प्रचार गलत : अर्थमन्त्री सचिवालय

काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सैद्धान्तिक सहमति भएको भन्दै सार्वजनिक रूपमा फैलाइएको प्रचारप्रसारप्रति अर्थमन्त्रीको सचिवालयले ध्यानाकर्षण जनाएको छ।

अर्थमन्त्रीको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रचारप्रसारमा दाबी गरिएजस्तो उक्त विषयमा अर्थमन्त्री वाग्लेले आइतबार साँझ वा गएको साताभर कुनै भेटघाट तथा छलफल नगरेको स्पष्ट पारेको छ।

प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा विद्युत् महसुलमा भ्याटको विषयमा अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभामा व्यक्त गरेको धारणा अनुरूप उपभोक्तालाई राहत दिने तथा विषयलाई थप सहजीकरण गर्ने सम्बन्धमा मातहतका निकायमार्फत अध्ययन र छलफल भइरहेको उल्लेख गरिएको छ।

सचिवालयले विद्युत् भ्याट सम्बन्धी विषयमा हाल आवश्यक अध्ययन तथा परामर्शको प्रक्रिया जारी रहेको भन्दै अर्थमन्त्रीसँग प्रत्यक्ष छलफल वा सहमति भएको भनी गरिएका प्रचारप्रसारमा विश्वास नगर्न पनि आग्रह गरेको छ।