भोटेकोशी–त्रिशूली विपत्सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन

काठमाडौँ । प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपत्सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबिचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो । समितिलाई आठबुँदे अधिकारक्षेत्र दिइएको छ । यसअघि २०७२ वैशाख १२ गतेको भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्कालीन संविधान सभा/व्यवस्थापिकाले विशेष समिति बनाएको थियो ।

हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपत्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो । १५ सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुली रहनुभएको छ ।

समितिमा संयोजकसहित रास्वपाबाट आठ, नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई/दुई जनाको प्रतिनिधित्व रहेको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक/एक जनाको प्रतिनिधित्व रहेको छ ।

समितिमा रास्वपाबाट संयोजक पराजुलीबाहेक निशा डाँगी, अनुष्का श्रेष्ठ, सुजाता तामाङ, धनञ्जय रेग्मी, अचुतम लामिछाने, रवीन्द्र पटेल र मिङ्मा ग्याबु शेर्पा हुनुहुन्छ । यस्तै कांग्रेसबाट मोहन आचार्य र सीता (उर्मिला) थपलिया सदस्य हुनुहुन्छ । एमालेबाट डा. पुष्पराज कँडेल र गङ्गा श्रेष्ठ सदस्य हुनुहुन्छ । नेकपाबाट रमेशकुमार मल्ल, श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई र राप्रपाबाट सरस्वती लामा सदस्य हुनुहुन्छ ।