इरानद्वारा जोर्डनस्थित अमेरिकी आधारमा क्षेप्यास्त्र प्रहार

एजेन्सी । अमेरिकाले पछिल्ला दुई दिनमा आफ्ना नौसैनिक जहाजलाई इरानले दुईपटक निशाना बनाएपछि जवाफी कारबाही गर्दै पाँचवटा इरानी तेल ट्यांकरमा आक्रमण गरेको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जनाएको छ ।

सेन्टकमका अनुसार ओमानको खाडीमा रहेका इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग सम्बन्धित चारवटा तेल ट्यांकरलाई निशाना बनाइएको थियो । अर्को एउटा ट्यांकरलाई इरानको खाडी तटनजिकै रहेको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप आसपासमा आक्रमण गरिएको थियो ।

अमेरिकी आक्रमणको जवाफमा इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य आधारतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । जोर्डनले भने आफ्ना वायु प्रतिरक्षा प्रणालीमार्फत प्रहार गरिएका २० मध्ये १८ वटा इरानी क्षेप्यास्त्र खसालेको जनाएको बीबीसीको समाचारमा उल्लेख छ ।

जोर्डनका सशस्त्र बलका प्रवक्ताका अनुसार इरानले प्रहार गरेका दुईवटा क्षेप्यास्त्र भने मानव बस्ती नभएका क्षेत्रमा खसेका थिए ।

पछिल्लो एक सातामा अमेरिका र इरानबीच एकअर्काविरुद्धका आक्रमण तीव्र बनेका छन् । गत २८  फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको ६ महिनाभन्दा बढी समयपछि दुई देशबीच पुनः तनाव चर्किएको हो ।