मदन भण्डारी कलेजमा शोकसभा आयोजना

काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजले भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूको स्मरणमा आज एक शोकसभा आयोजना गरेको छ ।

रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीका कारण अकालमा ज्यान गुमाएकाहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ । कलेज परिसरमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा शोकसभामा गरिएको थियो ।

कार्यक्रमको सुरुमा बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण इष्टमित्र, नागरिक तथा आफन्तहरूको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो । यस दुःखद घडीमा कलेज परिवारले सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले राष्ट्रिय शोकको घडीमा कलेजको प्राङ्गणमा रहेको राष्ट्रिय झण्डा आधा झुकाउनुभयो । उहाँले कलेजका पूर्व शिक्षक धर्मराज रिमाल तथा पूर्वविद्यार्थी तथा पत्रकार टेकराज थामी समेत बाढीपछिको अवस्थादेखि सम्पर्कविहीन रहेको जानकारी गराउनुका साथै उहाँहरूको सकुशल फिर्ताको कामना गर्नुभयो । यस्तै उहाँले सरकार समक्ष खोजीको लागि आग्रह समेत गर्नुभयो ।

साथै, बाढीपीडितको राहतका लागि कलेजका शिक्षक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम सइ्कलन गरिएको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आजै जम्मा गर्ने समेत जानकारी गराउनु भयो ।

कलेजले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित नागरिकहरूको पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यमा निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

नेपाल सरकार, मन्त्री परिषदको भदौ १८ गते बसेको बैठकले भदौ १० भोटेकोशी बाढीका कारण मृत्यु भएका र हराइरहेका नागरिकहरूको स्मरणमा आज राष्ट्रिय शोकको घोषणा गरेको हो ।