भदौ २३ र २४ को घटनामा निष्पक्ष छानबिन हुनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गतवर्ष भदौ २३ र २४ गते देशमा भएका घटनाका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सत्य, न्याय र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।
आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा घटनामा मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ।

भण्डारीले उक्त घटनापछि मुलुकमा उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिलाई लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियामार्फत समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ। जनताले निर्वाचनमार्फत व्यक्त गरेको अभिमतलाई सम्मान गर्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र समृद्धिको दिशामा अघि बढ्नुपर्ने उहाँको भनाइ छ।

विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनालाई केवल दुई दिनको घटनाका रूपमा मात्र हेर्न नहुने उल्लेख गर्दै त्यसबाट उत्पन्न व्यापक जनअसन्तुष्टि, आगजनी, तोडफोड तथा सार्वजनिक एवं निजी सम्पत्तिमा भएको क्षतिबारे गम्भीर अध्ययन आवश्यक रहेको बताइएको छ। साथै राष्ट्रिय मानव अधिकार आयोग तथा विभिन्न छानबिन समितिहरूले सार्वजनिक गरेका प्रतिवेदनका आधारमा सत्य तथ्य बाहिर ल्याई दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरिएको छ।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक प्रतिशोधका आधारमा कसैलाई पनि दोषी ठहर गर्न नहुने र प्रमाण तथा कानुनका आधारमा मात्रै निर्णय हुनुपर्ने धारणा राख्नुभएको छ। राज्यका निकायले सबै नागरिकलाई समान व्यवहार गर्नुपर्ने र लोकतान्त्रिक मूल्य–मान्यतामाथि विश्वास कायम राख्नुपर्ने उहाँको जोड छ।

उहाँले युवापुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जनउत्तरदायित्वका मागलाई सकारात्मक रूपमा सम्बोधन गर्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्दै नागरिकको आवाजलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ। साथै लोकतन्त्रलाई थप सुदृढ बनाउन नागरिक र राजनीतिक दल दुवैको जिम्मेवारी बढेको उल्लेख गर्नुभएको छ।

भण्डारीले सत्य र न्यायको पक्षमा उभिँदै नयाँ पुस्ताको ऊर्जा, ज्ञान र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्न आह्वान गर्नुभएको छ। उहाँले असहमतिलाई लोकतान्त्रिक विधिबाट सम्बोधन गर्दै विभाजनभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ।