रसुवा बाढी : ११ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाण्डौ । रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीमा असर परेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् प्रणालीबाट बाहिर गएको हो।
प्राधिकरणले बुधबार जारी गरेको सूचनामा बाढीका कारण जनधनमा अपूरणीय क्षति हुनुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ।
बाढीका कारण बेपत्ता तथा प्रभावित सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सर्वसाधारणको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन प्राधिकरणले आग्रह गरेको छ।
बाढीको जोखिम अझै कायम रहन सक्ने भन्दै नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा स्थानान्तरण हुनसमेत अनुरोध गरिएको छ। प्राधिकरणले आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न पनि आग्रह गरेको छ।
बाढीका कारण प्राधिकरणको उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति प्रभावित भएको छ। प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, त्रिशूली–३ बी हब २२० केभी सबस्टेसन, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्र र विभिन्न वितरण संरचनामा क्षति पुगेको छ।


