रसुवा बाढी : उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । प्रभावित क्षेत्रमा अन्य जिल्लाबाट समेत थप जनशक्ति पठाइएको उहाँको भनाइ छ।

प्रधानमन्त्री शाहका अनुसार विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको छ। मेडिकल टोली, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटीलगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाउन निर्देशन दिइएको छ।

प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताउनुभएको छ।

सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकोप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। निजी हेलिकोप्टर कम्पनीलाई समेत आवश्यक परेका बेला परिचालन गर्न सकिने गरी हेलिकोप्टर तयारी अवस्थामा राख्न जानकारी गराइएको छ।

बाढीपछिको अवस्था र आगामी आवश्यक कदमबारे छलफल गर्न केही समयभित्र उच्चस्तरीय बैठक बोलाइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ।

उहाँले सबैलाई सुरक्षित स्थानमा बस्न तथा आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित निकायबाट जारी हुने उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न आग्रह गर्नुभएको छ। थप जानकारी तथा राहतसम्बन्धी विवरणका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।