भोटेकोशीमा आएको बाढीप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा चिन्ता, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भोटेकोशी नदीमा आएको भारी बाढीप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्नुभएको छ। तिब्बततर्फबाट रसुवाको नाका हुँदै भोटेकोशी नदीमा ठूलो बाढी प्रवेश गरेको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उहाँले एक सन्देश जारी गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले त्रिशूली नदीको तटीय क्षेत्र (विशेषगरी मुग्लिनसम्म) का बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाई सुरक्षित स्थानमा रहन हार्दिक अनुरोध गर्नुभएको छ। नदी तथा खोलाका किनार, तल्लो तटीय क्षेत्र र जोखिमयुक्त ठाउँहरूमा नजान तथा आवश्यक सबै सावधानी अपनाउन उनले सबैमा आग्रह गर्नुभएको छ ।

त्यस्तै, सम्भावित विपद्को यस कठिन घडीमा उद्धार र राहतका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, सम्बन्धित सबै निकाय र आम नागरिकलाई सुरक्षित रहेर आपसी सहयोग र समन्वय गर्न उनले विशेष आह्वान गर्नुभएको छ ।