सुनसरी घटनाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता: सामाजिक सद्भाव र संयमता कायम राख्न अपिल
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीलगायत देशका केही स्थानमा उत्पन्न सामाजिक तनाव तथा हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले उक्त हिंसात्मक घटनामा परी दुई जनाले ज्यान गुमाउनुपरेको र केही व्यक्ति घाइते भएको समाचारले आफूलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको छ।
पूर्वराष्ट्रपति भण्डारीले घटनामा परी दिवङ्गत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले विविधताबीचको एकता र सामाजिक सद्भाव नै नेपाली समाजको गौरव र राष्ट्रिय शक्तिको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभएको छ।
विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको स्मरण गराइएको छ। विभिन्न जाति, धर्म र संस्कृतका समुदायबिच शताब्दीौँदेखि आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्व रहँदै आएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले विविधताबीचको एकता र सामाजिक सद्भाव नै राष्ट्रिय शक्तिको मुख्य आधार भएको औँल्याउनुभएको छ। पुर्खाहरूले जोगाएर आएको यस अमूल्य परम्परालाई कुनै पनि परिस्थितिमा कमजोर हुन दिन नहुने उहाँको जोड छ।
वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली नागरिकहरूलाई उच्च संयमता अपनाउन आग्रह गर्दै उहाँले कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन अपिल गर्नुभएको छ। कुनै एक घटनालाई आधार बनाएर सम्पूर्ण समुदायप्रति अविश्वास, द्वेष या प्रतिशोधको भावना राख्नु राष्ट्रिय हित र लोकतान्त्रिक मूल्यमान्यताअनुकूल नहुने उहाँको भनाइ छ।
सरकार, सम्बन्धित प्रशासनिक निकाय तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न पूर्वराष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको छ। उहाँले पीडितलाई न्याय सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा तथा नागरिकको विश्वास पुनःस्थापित गर्न आवश्यक सबै कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
सामाजिक सद्भाव कायम राख्न काठमाडौँ र कोशी प्रदेश सरकारको पहलमा राजनीतिक दलहरू सक्रिय हुने निर्णयको स्वागत गर्दै उहाँले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आह्वान गर्नुभएको छ। साथै, राष्ट्रिय एकता र शान्तिपूर्ण सहअस्तित्वका लागि सम्पूर्ण राजनीतिक दल, धार्मिक तथा सामाजिक अगुवा, नागरिक समाज र सञ्चारमाध्यमलाई जिम्मेवार भूमिका निर्वाह गर्न उहाँले अनुरोध गर्नुभएको छ।


