पाकिस्तानको प्रहरी चौकीमा आक्रमण हुँदा ९ प्रहरीसहित २४ जनाको मृत्यु
एजेन्सी । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि सशस्त्र समूहले गरेको भीषण आक्रमणमा नौ जना प्रहरीको मृत्यु भएको छ।
सुरक्षा कारबाहीका क्रममा १५ जना आक्रमणकारी पनि मारिएका छन् भने दुवै पक्षका दर्जनौँ व्यक्ति घाइते भएका छन्। पछिल्ला केही दिनयता सोही क्षेत्रमा भएका लगातारका आक्रमणले पाकिस्तानको सुरक्षा चुनौती थप गम्भीर बनेको छ।
प्रहरीका अनुसार बुधबार हङ्गु जिल्लास्थित प्रहरी चौकीलाई लक्षित गरी ठूलो सङ्ख्यामा सशस्त्र व्यक्तिले आक्रमण गरेका थिए। झडपमा नौ जना प्रहरीको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका छन्। जवाफी कारबाहीमा सुरक्षा बलले १५ जना आक्रमणकारीलाई मार्नुका साथै अन्य धेरैलाई घाइते बनाएको जनाएको छ।
खैबर पख्तुनख्वा प्रहरीद्वारा जारी विज्ञप्तिमा झडपका क्रममा एउटा बख्तरबन्द सवारीसाधन र अन्य धेरै प्रहरीका गाडीमा पनि गम्भीर क्षति पुगेको उल्लेख गरिएको छ। यस आक्रमणको जिम्मेवारी प्रतिबन्धित तेहरिक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशबाट लिएको छ।
पछिल्ला महिनामा उक्त समूहले खैबर पख्तुनख्वाका विभिन्न जिल्लामा सुरक्षा निकायलाई लक्षित गर्दै आक्रमण तीव्र बनाउँदै आएको छ। यसअघि गत शुक्रबार पनि खैबर पख्तुनख्वाको ट्याङ्क जिल्लास्थित अर्को सुरक्षा चौकीमा आत्मघाती शैलीको आक्रमण भएको थियो।
विस्फोटक पदार्थले भरिएको सवारीसाधन सुरक्षा चौकीमा ठोक्काइएपछि भएको विस्फोटमा सैनिक, प्रहरी र सरकारी कर्मचारीसहित १५ जनाको मृत्यु भएको थियो। त्यस घटनापछि सुरक्षा बलले गरेको कारबाहीमा १२ जना आक्रमणकारी मारिएको सेनाले जनाएको थियो।
पाकिस्तान सरकारले खैबर पख्तुनख्वा र बलुचिस्तानमा बढ्दो हिंसात्मक गतिविधिका लागि अफगानिस्तानबाट सञ्चालित आतङ्कवादी समूह जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ। तर अफगानिस्तानको तालिबान सरकारले भने त्यस्ता आरोप अस्वीकार गर्दै आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिइने बताउँदै आएको छ।
दुवै देशबीच यस विषयलाई लिएर पछिल्ला महिनामा तनाव बढ्दै गएको छ। पाकिस्तानले अफगान भूमिमा लुकेका आतङ्ककारीलाई लक्षित गरी हवाई आक्रमणसमेत गर्दै आएको जनाएको छ। तालिबान प्रशासन र संयुक्त राष्ट्रसङ्घका अनुसार गत जुनमा पूर्वी अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारणको मृत्यु भएको थियो।

