फोर्स लेबर रोक्न नसकेको आरोपमा अमेरिकाले लगायो ६० व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क
एजेन्सी । अमेरिकाले जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै बेलायत, चीन, युरोपेली संघ, क्यानडा, जापान र भारतसहित करिब ६० प्रमुख व्यापारिक साझेदारमाथि १० देखि १२.५ प्रतिशतसम्म नयाँ भन्सार शुल्क लागू गरेको छ ।
शुक्रबारदेखि लागू भएको यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा पुनः तीव्र बनेको व्यापार युद्धको पछिल्लो कदम मानिएको छ । अमेरिकी व्यापार प्रतिनिधि जैमिसन ग्रियरका अनुसार नयाँ शुल्कले जबरजस्ती श्रमजस्ता मानवअधिकार उल्लंघन तथा अस्वस्थ व्यापारिक अभ्यास नियन्त्रण गर्न सहयोग पुग्नेछ ।
अमेरिकाले जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयात प्रतिबन्ध प्रभावकारी रूपमा लागू गर्ने प्रतिबद्धता जनाएका मुलुकलाई १० प्रतिशत र त्यस्तो प्रतिबद्धता नजनाएका मुलुकलाई १२.५ प्रतिशत शुल्क लगाएको बीबीसीले जनाएको छ ।
यद्यपि, अर्थशास्त्रीहरूले उच्च भन्सार शुल्कका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन् । प्रभावित मुलुकहरूले कानुनी चुनौती वा प्रतिशोधात्मक शुल्क लगाउने सम्भावनासमेत रहेको जनाइएको छ ।

