त्रिविमा प्रदर्शन गर्ने ६ विद्यार्थी पक्राउ, युनियनद्वारा रिहाइको माग

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा  स्वतन्त्र विद्यार्थी युनियन, त्रिविका ६ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएपछि युनियनले उनीहरूको रिहाइको माग गरेको छ।

बिहीबार त्रिविमा विद्यार्थी प्रतिनिधिमाथि प्रहरीले निषेध लगाएको, दुर्व्यवहार गरेको तथा पक्राउ गरेको भन्दै गम्भीर आपत्ति जनाउँदै युनियनले लोकतान्त्रिक मूल्य–मान्यता, अभिव्यक्ति स्वतन्त्रता र विद्यार्थी सहभागितामाथिको हस्तक्षेप भएको बताएको छ।

युनियनका अनुसार विद्यार्थी प्रतिनिधिहरू त्रिभुवन विश्वविद्यालयका लागि पर्याप्त बजेट विनियोजन, सरकार र विद्यार्थीबीच संवादको वातावरण निर्माण, विश्वविद्यालय सुधारका विषयमा छलफल तथा विश्वविद्यालय सभाको बैठक समयमै आह्वान गर्नुपर्ने मागसहित  त्रिविको ६७ औँ वार्षिक दिवस कार्यक्रममा पुगेका थिए। विज्ञप्तिमा विश्वविद्यालयमा मेरिटोक्रेसी पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको, विश्वविद्यालय सुधारका माग शिक्षा मन्त्री सामु राखेका थिए।

तर शिक्षा मन्त्रीको अगाडी उक्त माग राख्दै नाराबाजी गरेपछि प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्वतन्त्र विद्यार्थी युनियनका  उपसभापति सनम ओली, सचिव हिक्मतकुमार बुढा, डम्बर सिंह ऐडी, कुलबहादुर बुढा, तेजप्रकाश सज्ल्याल र दिनेश रेग्मी रहेका छन्। उनीहरूलाई बिना शर्त तत्काल रिहा गर्न युनियनले माग गरेको छ।

यता, किर्तिपुर प्रहरी वृत्तले भने विद्यार्थीहरूले कार्यक्रमस्थलमा नारा लगाउँदै प्लेकार्ड प्रदर्शन गरेपछि शान्ति–सुरक्षाको दृष्टिले नियन्त्रणमा लिइएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका ६ जनालाई आवश्यक प्रक्रिया पूरा रिहा गर्ने प्रहरीले जनाएको छ।