विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबन्डा ४ वर्षभित्र अन्त्य गर्छाैँ : शिक्षामन्त्री पोखरेल

काठमाण्डाै ।  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्णरूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदो ४ वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताउनुभएको हो ।

विश्वविद्यालय सभाका उपाध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागबन्डाका आधारमा नभई योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा विश्वविद्यालयको टोली निर्माण गरिने स्पष्ट पार्नुभयो । उहाँले विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरुवा वा बढुवाजस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाव दिने परिपाटीको अब अन्त्य हुने जिकिर गर्नुभयो ।

मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि आफ्नो मन्त्रालय दृढ रहेको उल्लेख गर्दै कतैबाट राजनीतिक दबाव आए तुरुन्त मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र सुधारका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने उल्लेख गर्नुभयो ।