इरानमाथि लगातार १२ औँ दिन पनि अमेरिकाको भीषण बमबारी
एजेन्सी । अमेरिकाले इरानमाथि लगातार १२ औँ दिन पनि भीषण बमबारी जारी राखेको छ।
यमनका हुथी विद्रोहीहरूले ‘रेड सी’ मा साउदी अरेबियाका दुई तेल ट्यांकरमाथि शक्तिशाली आक्रमण गरेको दाबी गरेका छन्। यस तनावपूर्ण भूराजनीतिक घटनाक्रमका कारण विश्व बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि भएको छ।
बिहीबार दक्षिणी इरानका बुशहर, अहवाज, रामशिर, महशहर र सिरिकजस्ता प्रमुख सहरहरूलाई लक्षित गर्दै अमेरिकी सेनाले लगातार हवाई आक्रमण गरिरहेको छ। बुशहर आणविक ऊर्जा केन्द्र नजिकैको पावर सबस्टेशनमा गरिएको आक्रमणका कारण त्यस क्षेत्रमा केही घण्टा बिजुली आपूर्ति पूर्ण रूपमा बन्द भएको थियो। मध्यपूर्वमा तनाव दिनप्रतिदिन चुलिँदै गएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै होर्मुजको जलमार्गमा इरानी सेनाले कुनै पनि जहाजमाथि प्रहार गरेमा अमेरिकाले इरानी पुल र पावर प्लान्टजस्ता नागरिक पूर्वाधारमा बम प्रहार गर्ने बताएका छन्। ट्रम्पको यस चेतावनीको जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले तेहरानको रक्षा सिद्धान्त ‘आँखाको बदला आँखा’ भएको बताएका छन्। इरानले पनि यदि आफूले तेल बेच्न नपाए अमेरिकी सहयोगी र खाडी राष्ट्रहरूलाई पनि तेल आपूर्तिमा बाधा पुर्याउने चेतावनी दिएको छ। इरानले खाडीका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएर आक्रमण गरिरहेको छ।
यमनको हुथी विद्रोही समूहले साउदी अरेबियामाथि समुद्री प्रतिबन्धको घोषणा गर्दै ‘रेड सी’ मा ‘एन्सेलिया’ र ‘लैला’ नामक दुई साउदी तेल ट्यांकरलाई निशाना बनाएको दाबी गरेका छन्। उनीहरूले धेरै क्रूज मिसाइल, ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरेर उक्त आक्रमण गरिएको दाबी गरेका हुन्। यस आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिको अर्को प्रमुख मार्ग बाब अल-मण्डब जलमार्गमा गम्भीर असर पारेको छ।
यस अशान्तिको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारमा देखिएको छ। ब्रेन्ट क्रूड फ्युचर्सको मूल्य प्रति ब्यारेल २ प्रतिशतले बढेर ९६ डलर पुगेको छ, जुन गत जुन ८ यताकै उच्च बिन्दु हो। त्यसैगरी, डब्लूटीआई कच्चा तेलको मूल्य पनि बढेर ८८.२७ डलर प्रति ब्यारेल पुगेको छ।
यसैबिच, अमेरिकी संसद्ले इरानविरुद्धको युद्धका बिच १.१५ ट्रिलियन अमेरिकी डलरको विशाल सैन्य खर्चसहितको राष्ट्रिय रक्षा प्राधिकरण ऐन पारित गरेको छ। यस विधेयकमा अमेरिकी र इजरायली सेनालाई एकीकृत गर्ने प्रावधानसमेत समेटिएको छ।
रिपब्लिकन र डेमोक्रेट सांसदहरूबिचको मतभेदका बाबजुद पारित भएको यो विधेयक अब सिनेटमा प्रवेश गर्नेछ। साथै, अमेरिका र साउदी अरेबियाबिच एक ऐतिहासिक आणविक सहयोग सम्झौता पनि भएको छ, जसले रियादलाई नागरिक युरेनियम संवर्धन क्षमता विकास गर्न बाटो खोलेको छ।

