जबजको सिद्धान्त र नेपाली मौलिकतालाई विश्वव्यापी बनाउन आवश्यक : पूर्व राष्ट्रपति भण्डारी
काठमाण्डौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) नेपाली माटोमा विकसित मौलिक राजनीतिक अवधारणा भएको बताउनुभएको छ।
मदन भण्डारी फाउन्डेसनद्वारा प्रकाशित ‘स्टेट, सोसाइटी एण्ड डेभ्लपमेन्ट: पी.एम.पी.डी. प्रस्पेक्टिभ्स’ जर्नलको चौथो अंकको विमोचन कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले जबजको महत्त्व केवल नेपालमा मात्र नभई अन्य विकासोन्मुख मुलुकहरूको तुलनात्मक अध्ययनका लागि पनि उत्तिकै सान्दर्भिक रहेको औंल्याउनुभयो।
उहाँले भन्नुभयो, “जबजले संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, मानव अधिकार र बहुदलीय प्रतिस्पर्धालाई लोकतान्त्रिक व्यवस्थाका आधारका रूपमा स्वीकार गर्दै समाजवादतर्फ अघि बढ्ने दृष्टिकोण दिन्छ। कुनै पनि विचारलाई निरन्तर अध्ययन, अनुसन्धान र प्राज्ञिक बहसका माध्यमबाट परिष्कृत गर्दै लैजानु आजको आवश्यकता हो।”
पूर्व राष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसनले अङ्ग्रेजी भाषामा निरन्तर यो जर्नल प्रकाशन गरेर नेपालको मौलिक राजनीतिक चिन्तनलाई विश्वव्यापी बौद्धिक समुदायसँग जोड्ने पुलको काम गरेको भन्दै प्रशंसा गर्नुभयो।
उहाँले थप्नुभयो, “आज विश्वले सुशासन, सामाजिक न्याय, जलवायु परिवर्तन र आर्थिक असमानताजस्ता जटिल समस्या झेलिरहेको छ। यस्तो अवस्थामा नेपालजस्ता मुलुकका अनुभव र वैकल्पिक दृष्टिकोणहरू अन्तर्राष्ट्रिय बहसको हिस्सा बन्न आवश्यक छ। यस जर्नलले नेपालको लोकतान्त्रिक अभ्यास र राजनीतिक रूपान्तरणबारे हुने शैक्षिक छलफलमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिएकी छु।”
जर्नलको चौथो अंकमा डिजिटल युगमा जबजको सान्दर्भिकता, लोकतन्त्र, समाजवाद, मार्क्सवादको समकालीन व्याख्या, परराष्ट्र नीति र बदलिँदो राष्ट्रिय(अन्तर्राष्ट्रिय परिवेशमा जबजका अवसर र चुनौतीबारे लेखहरू समेटिएका छन्। पूर्व राष्ट्रपति भण्डारीले यी लेखहरूले जबजमाथिको बौद्धिक बहसलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका पदाधिकारी, प्राज्ञिक व्यक्तित्वहरू, विश्लेषकहरूको उपस्थिति रहेको थियो।

