आज पनि देशका धेरै ठाउँमा मुसलधारे वर्षा
काठमाण्डौ । देशभर मनसुनी गतिविधि सक्रिय बन्दै जाँदा विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोदेखि शुरु भएको वर्षा रातभर निरन्तर रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उल्लेख्य वर्षा मापन गरिएको छ ।
मौसम प्रणाली पश्चिमतर्फ थप सक्रिय बन्दै गएकाले आज पनि देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना पनि छ । महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे क्षेत्रमा मापन गरिएको छ । त्यहाँ १०२ मिलिमिटर वर्षा भएको छ, । बागमती प्रदेशका अन्य जिल्लासहित कोशी प्रदेशका विभिन्न ठाउँमा पनि निरन्तर वर्षा भइरहेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा समेत मध्यमदेखि अति ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन् । निरन्तर वर्षाका कारण नदी, खोला तथा साना खोल्सीहरूमा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यस्तै, पहाडी जिल्लाका भिरालो तथा कमजोर भू–भागमा पहिरो जाने जोखिम उच्च रहेकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न तथा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मुसलधारे र आरिघोप्टे वर्षाका कारण होचा तथा डुबान हुने क्षेत्रमा आकस्मिक बाढी, सडक जलमग्न हुने, सडक अवरुद्ध हुने तथा यातायात सेवा प्रभावित हुन सक्ने सम्भावना कायमै छ । ग्रामीण सडक तथा राजमार्ग आसपासका पहिरो जोखिमयुक्त क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोक र ललितपुर जिल्ला आसपासका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने चेतावनी दिएको छ । महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा ती क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले वर्षा थप भएमा साना खोलामा आकस्मिक बाढी आउने जोखिम बढ्न सक्छ । विशेष गरी नदी तथा खोलाको किनार, तटीय बस्ती, डुबान हुने क्षेत्र तथा पहिरोको जोखिम भएका स्थानका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाले स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी अवस्थामा रहन पनि अनुरोध गरेको छ । सम्भावित उद्धार तथा राहतका सामग्री तयारी अवस्थामा राख्न, जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन गर्न तथा आवश्यक परेमा तत्काल सूचना प्रवाह गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन, अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न, नदी तथा खोलामा पौडी खेल्ने वा तर्ने प्रयास नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्न सबै नागरिकसँग अनुरोध गरेको छ । बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

