मदन भण्डारी स्काउट क्रूको दोस्रो वार्षिकोत्सव सम्पन्न : उत्कृष्ट स्काउटहरू सम्मानित
बिष्णु खनाल, साउन२, काठमाण्डौ । मदन भण्डारी स्काउट क्रूले आज एक विशेष समारोहका बीच आफ्नो दोस्रो वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कलेजका सहायक क्याम्पस प्रमुख एवं कार्यक्रमका सभापति प्रज्वलमान श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा स्काउटिङको महत्व, अनुशासन र सामाजिक उत्तरदायित्वमाथि विशेष चर्चा गरिएको थियो । कार्यक्रमसँगै स्काउट क्रूमा नयाँ सदस्यहरूको दीक्षान्त समारोह सम्पन्न गरियो भने दोस्रो ब्याचका स्काउट क्रू (रोभर र रेन्जर)हरूलाई मेम्बरशीप ब्याजबाट स्क्वायर ब्याजमा अपग्रेडिङ गरिएको छ ।
वार्षिकोत्सव समारोहमा स्काउट क्रूका विभिन्न गतिविधिहरू, सांस्कृतिक प्रस्तुति, र स्काउट सदस्यहरूको अनुभव आदान–प्रदान गरिएको थियो । साथै, सो अवसरमा स्काउट क्रूका सदस्यहरूलाई उनीहरूको वर्षभरिको प्रदर्शन, अनुशासन, नेतृत्व र सक्रियताको आधारमा विभिन्न अवार्डहरू प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले स्काउटिङमा सिकाइने ’अनुशासन’ वर्तमान समाजको सबैभन्दा ठूलो आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी अनुशासित भयौँ भने सम्मानित पनि हुन्छौँ र समाजलाई पनि अनुशासित बनाउन सक्छौँ । तपाईंहरूको विधि र व्यवहार देखेर समाज अभिप्रेरित हुन्छ।” पूर्व राजदूत पाण्डेले ’रेन्जर’ र ’रोभर’को भूमिकामाथि प्रकाश पार्दै, रेन्जरहरूले नेपाल रूपी फुलबारीका विभिन्न जातजाति र भाषाभाषीको संरक्षण गर्नुपर्ने र रोभरहरूले आवश्यकता पर्दा तत्काल सेवामा जुट्न सक्ने तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा सहायक क्याम्पस प्रमुख प्रज्वलमान श्रेष्ठले (शैक्षिक) स्काउट क्रूले हासिल गरेको सफलताप्रति खुशी व्यक्त गर्दै विद्यार्थीहरूले विभिन्न सामुदायिक परियोजनामा देखाएको सहभागिताको प्रशंसा गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई आफूमा विश्वास राखेर निरन्तर प्रेरणादायी काम गर्दै अघि बढ्न प्रेरित गर्नुभयो । श्रेष्ठले मदन भण्डारी मेमोरियल कलेजको शैक्षिक उत्कृष्टताको मोटो ‘एक्सेलन्स इन लिडरसिप फर ट्रान्सफर्मेसन’ अनुरूप स्काउटिङले विद्यार्थीको पढाइलाई असर नपारी उनीहरूलाई थप सक्षम र सबल बनाएको बताउनुभयो । उहाँले स्काउट सदस्यहरूलाई कलेजका ‘ब्राण्ड एम्बेसडर’ भन्दै उनीहरूको सेवा र क्रियाशीलताले संस्थाको प्रतिष्ठा बढाएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मदन भण्डारी मेमोरियल माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल न्यौपानेले स्काउटिङलाई केवल अतिरिक्त क्रियाकलापका रूपमा मात्र नभई एउटा उत्कृष्ट नागरिक बनाउने ’जीवनशैली’ र ’अनुशासन’का रूपमा लिन सकिने कुरामा जोड दिनुभयो । प्रधानाध्यापक न्यौपानेले विगत दुई वर्षमा स्काउट क्रूले गरेका गतिविधिहरू—जस्तै आँखा शिविर, सरसफाइ कार्यक्रम, वातावरण संरक्षण तथा जनावरहरूको संरक्षण जस्ता कार्यहरूको चर्चा गर्दै संस्थाको तर्फबाट गौरव महसुस गरेको बताउनुभयो । उहाँले विशेषगरी डा. सन्दुक रुइतसँगको सहकार्यमा सञ्चालित आँखा शिविरमा विद्यार्थीहरूको सक्रिय सहभागिताको सराहना गर्नुभयो ।

मुख्य अतिथिका रूपमा उपस्थित नेपाल स्काउट बागमती प्रदेश सामुदायिक विकास आयुक्त तथा लिडर ट्रेनर श्री धर्मभक्त मल्लले स्काउट सदस्यहरूलाई सेवामूलक गतिविधिमा सक्रिय रहन प्रोत्साहित गर्नुभयो । उहाँका अनुसार यस्ता जीवनोपयोगी सीपहरूले शैक्षिक दक्षता, नैतिक आचारसंहिता, आत्मविश्वास र युवाहरूको मूल्य अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ ।
त्यस्तै, कार्यक्रममा नेपाल स्काउट्स राष्ट्रिय परिषद् सदस्य तथा मदन भण्डारी स्काउट क्रूकी रेन्जर लिडर मुना खनाल, मदन भण्डारी कलेजका सहायक क्याम्पस प्रमुख तारा प्रसाद गौतम (प्रशासनिक) र अतिरिक्त क्रियाकलाप संयोजक मोहित गुरागाईं सहभागी हुनुहुन्थ्यो । साथै कलेजका प्राध्यापकहरू, शिक्षकहरू र स्काउट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।




मदन भण्डारी स्काउट क्रूले स्थापना वर्ष देखिनै कलेजका सबै गतिविधिमा सक्रिय भूमिका खेलेको छ । “हरदम तयार रहनु, अरूको सेवा गर्नु भन्ने” मूलमन्त्रमा आधारित रही स्काउट क्रूहरूले सामुदायिक सेवा, समूहगत कार्य, विद्यार्थी अन्तरक्रिया कार्यक्रम र नेतृत्व विकासका गतिविधिहरूमा उल्लेखनीय योगदान दिँदै आइरहेका छन् ।
समारोहले स्काउट सदस्यहरूमा थप उत्साह र प्रेरणा थप्नुका साथै भविष्यमा अझ जिम्मेवार भई सेवाको मार्गमा अग्रसर हुन प्रेरित गरेको छ ।

वार्षिकोत्सवमा सम्मानित स्काउट सदस्यहरूः
प्राइड अफ द क्रू : नबिन सिंह ठकुरी
बेस्ट रोभर : सन्तोष ठाकुर
बेस्ट रेन्जर : रेखा दुम्रे
मोस्ट एक्टिभ रोभर : रुपेश जोशी
मोस्ट एक्टिभ रेन्जर : अप्सरा कट्टेल
मोस्ट डिसिप्लिन्ड रोभर : कमल बुढा
मोस्ट डिसिप्लिन्ड रेन्जर : बन्ध्या सुनुवार
मोस्ट पन्चुअल एण्ड रेगुलर : स्मृति खड्का
एभर रेडी अवार्ड : नबिन सिंह ठकुरी

