आज दिउँसो देशका धेरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना
काठमाण्डौ । आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा, मधेश प्रदेशका साथै कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्या सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
देशका धेरै ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । अरु ठाउँको तुलनामा बागमती र लुम्बिनी प्रदेशमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति भने मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडका एक, दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।
साथै मधेश प्रदेशका तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक, दुई ठाउँमा समेत ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

