नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सवमा मदन भण्डारी कलेजकी छात्रा सम्मानित
काठमाण्डौ । नेपालभरका सामुदायिक क्याम्पसमध्ये मानविकी संकायतर्फ स्नातक तहमा उत्कृष्ट अंक हाँसिल गर्न सफल सन्जिता रेग्मी सम्मानित हुनुभएको छ ।
मदन भण्डारी मेमोरियल कलेजकी छात्रा रेग्मीलाई नेपाल पब्लिक क्याम्पस संघले आफ्नो ३७औँ वार्षिकोत्सव समारोहमा आज १५ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको हो । उक्त उपलब्धिले कलेजले सिर्जना गरेको समग्र शिक्षण वातावरण र विद्यार्थी, शिक्षक तथा समुदायका साझा प्रयासलाई उजागर गरेको छ । सो अवसरमा संघले कलेजलाई सम्मानपत्र पनि प्रदान गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सामुदायिक क्याम्पसहरूले नेपालको उच्च शिक्षामा
पुर्याएको योगदानको प्रशंसा गर्दै पब्लिक क्याम्पसका समस्या र आवश्यकतालाई गम्भीरतापूर्वक अध्ययन गरी विश्वविद्यालयबाट आवश्यक निर्णय लिने प्रतिवद्धता व्यक्त गर्नुभयो । विश्वविद्यालयको नेतृत्व सम्हालेको चौथो दिनमै कार्यक्रममा सहभागी हुनु सामुदायिक क्याम्पसप्रतिको सम्मान भएको उल्लेख गर्दै उहाँले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने तथा पूर्व नेतृत्वको अनुभवबाट मार्गदर्शन लिँदै विश्वविद्यालयलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. दीपक अर्यालले देशभरका ४५० भन्दा बढी सामुदायिक क्याम्पसलाई लक्षित गरी गरिएका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयको नेतृत्वलाई स्थायित्व प्रदान गर्दै प्रत्येक नेतृत्वले कम्तीमा चारदेखि पाँच वर्षसम्म निरन्तर रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाले नेपालको उच्च शिक्षा प्रणालीलाई स्पष्ट नीति, विश्वविद्यालयको स्वायत्तता र दीर्घकालीन दृष्टिकोणका आधारमा पुनर्संरचना गर्नुपर्ने धारणा राख्नुभयो । सामुदायिक क्याम्पसहरूलाई उच्च शिक्षाको प्रभावकारी र दिगो मोडलका रूपमा उल्लेख गर्दै उहाँले उनीहरूको भूमिकालाई राज्यले नीतिगत रूपमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै, विश्वविद्यालय अनुदान आयोगका निमित्त सचिव डा. केदार आचार्यले सामुदायिक क्याम्पसहरूले समुदायको सक्रिय सहभागितामार्फत उच्च शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै त्यसको उचित मूल्याङ्कन र मान्यता सरकारले दिनुपर्ने बताउनुभयो ।
संघका सल्लाहकार एवम् पूर्व उपाध्यक्ष धनलाल महर्जनले उत्कृष्ट अंकका आधारमा सम्मानित चार विधाका स्नातक तहका विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
साथै, मदन भण्डारी मेमोरियल कलेजका प्रमुख डा. बाबुराम अधिकारीले विभिन्न विधामा सम्मानित भएका विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा सामुदायिक क्याम्पसहरूलाई बधाई दिँदै यस्ता उपलब्धिले अन्य शैक्षिक संस्थाहरूलाई उत्कृष्टता हाँसिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघनप्रसाद गुप्ताले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै सामुदायिक क्याम्पसहरूको विकासका लागि सरकारले थप सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष, पदाधिकारी, सल्लाहकार, सदस्य, विभिन्न सामुदायिक क्याम्पसका सञ्चालक समिति अध्यक्ष, क्याम्पस प्रमुख, प्राध्यापक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा संघका पदाधिकारी, सदस्य, सल्लाहकार, सञ्चालक समिति, क्याम्पस प्रमुख, प्राध्यापक संघका प्रतिनिधि तथा अभिभावकहरूको पनि उपस्थिति थियो ।

