राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक एरेनाद्वारा राजीनामा
काठमाण्डौ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले राजीनामा दिनुभएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) विश्व फुटबल महासङ्घ (फिफा) को प्रतिबन्धमा परेपनि फुटबल गतिविधि नहुँदा प्रशिक्षक एरेनाले राजीनामा दिनुभएको हो ।
इटालीका ५२ वर्षीय एरेनालाई एन्फाले गत फागुनमा एक बर्षका लागि प्रशिक्षक नियुक्त गरेको थियो । एरेनाले आफुले राजीनामा दिएको सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ ।
एरेनाको प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले एउटा मात्र खेल खेलेको थियो । एसिया कप छनोट अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा नेपालले भियतनाममा लाओससँग खेलेको थियो ।
उक्त खेलमा नेपाल १–० गोलले पराजित भएको थियो । सरकारको हस्तक्षेप भएको भन्दै फिफाले एन्फालाई असार १० गते निलम्बन गरेको थियो निलम्बनपछि नेपाली फुटबलको राष्ट्रिय र अन्तराष्ट्रिय गतिविधि ठप्प बनेको छ ।

