वर्तमान सरकारले एन्फामा कुनै हस्तक्षेप गरेको छैन : खेलकुदमन्त्री पोखरेल
काठमाण्डौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि वर्तमान सरकारले कुनै हस्तक्षेप नगरेको बताउनुभएको छ । आज बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै उहाँले एन्फाभित्र व्यापक भ्रष्टाचार र अनियमितताका विषयमा परेका उजुरीमाथि छानबिन सुरु गरिएको तर सरकारले कुनै हस्तक्षेप नगरेको स्पष्ट पार्नुभयो ।
फिफाले एन्फालाई निलम्बन गरेको विषयमा मन्त्री पोखरेलले विगतमा त्यहाँ सरकारी हस्तक्षेप हुँदै आएको उल्लेख गर्नुभयो । एन्फा निलम्बित हुनुमा वर्तमान सरकारको हस्तक्षेपका कारण नभएको उहाँको भनाइ छ ।
मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्षको अध्यक्षतामा गठित छानबिन समितिको प्रतिवेदन प्राप्त हुनेबितिकै आवश्यक कारबाहीका निम्ति सम्बन्धित निकायमा पठाइने जानकारी दिनुभयो । फिफा तथा एएफसीका पदाधिकारीलाई पनि वार्ताका लागि आमन्त्रण गरिएको उहाँले बताउनुभयो ।
मन्त्री पोखरेलले अब बन्ने एन्फामा राजनीतिक नियुक्ति पूर्ण रूपमा बन्द गरिने र यसलाई भ्रष्टाचारको अखडा हुन नदिने स्पष्ट पार्नुभयो ।

